राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा एमालेका दशौदी निर्वाचित

February 8, 2023 9:32 pm

देउखुरी। लुम्बिनी प्रदेशमा भएको राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा नेकपा (एमाले)का कुमार दशौदी निर्वाचित भएका छन्। सत्ता गठबन्धनका दशौदीले चार हजार २६ मतभार पाएर निर्वाचित भएका हुन्।

उनका प्रतिस्पर्धी नेपाली काँग्रेसका माधव आचार्यले तीन हजार सात सय २० मतभार प्राप्त गरेका छन्। यस्तै नागरिक उन्मुक्ति पार्टीका राजेन्द्रवीर रायले एक सय ९२ मतभार प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले जानकारी दिए।

निर्वाचनमा तीन सय पाँच मतदातामध्ये तीन सय चार मत खसेको थियो। एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित रुपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको सिटमा उपनिर्वाचन भएको हो।

रुपन्देहीको मर्मवारी गाउँपालिकाकी उपाध्यक्ष आशा सिंह भारतमा रहेकाले मतदानमा सहभागी नभएको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ। प्रदेशसभातर्फ ८७ मतमध्ये सबै र पालिकातर्फ दुई सय १८ मध्ये दुई सय १७ मत खसेको थियो।