चितवन-२ का मतदातालाई अभिभावकत्व दिन्छौं : डा कोइराला

February 7, 2023 7:28 pm

काठमाडौं। नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले चितवन क्षेत्र नं २ का मतदातालाई अभिभावकविहीन नठान्न आग्रह गरेका छन्। नेपाल प्रेस युनियन बागमती प्रदेशको प्रथम अधिवेशन आज सौराहामा उद्घाटन गर्दै उनले यस क्षेत्रका प्रतिनिधिसभा सदस्य रिक्त रहे पनि मतदाता सँगसँगै काँग्रेस रहेको बताएका हुन्।

चितवन क्षेत्र नं २ बाट निर्वाचित सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि यहाँ उपनिर्वाचन हुँदैछ। कोइरालाले भने, ‘तपाइँ मतदाताहरूले फेरि दुःख पाउनु पर्‍यो। ढुक्क भएर लोकतान्त्रिक शक्तिलाई जिताउनेतर्फ तपाईँहरू लाग्नुस्।’

उनले अन्य राजनैतिक दलहरूसँग छलफल गरेर राष्ट्रपतिमा काँग्रेसको उम्मेदवारलाई विजयी गराउने बताए। नेता कोइराला भने, ‘सत्तासीन केही दलले काँग्रेसले भाँजो हाल्न खोज्यो भनेका छन् तर हामी संसद्को ठूलो दल भएकाले हाम्रो जिकिर यसमा रहन्छ।’ प्रतिपक्षमा रहेर आफ्नो भूमिका निर्वाह गर्ने उनको भनाइ थियो। राष्ट्रपतिको निर्वाचनमा काँग्रेसले आफ्नो उम्मेदवारलाई विजयी गराउने गरी अघि बढेको नेता कोइरालाले बताए।

प्रतिपक्षी भनेको ‘गभरमेन्ट इन ओइटिङ’ रहेको उनको भनाइ थियो। अहिले देश अत्यन्तै अप्ठ्यारो मोडमा रहेको बताउँदै नेता कोइरालाले यसलाई कसरी समाधान गर्ने भन्ने विषमा काँग्रेसमा छलफल भइरहेको बताए।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले प्रेसजगत्माथि प्रश्न नउठ्ने गरी काम गर्नुपर्ने बताए। उनले पछिल्लो समय संगठन बनाउनुभन्दा गुट बनाउन लागेका कारण काँग्रेस कमजोर बनेको बताए। सदस्य भट्टराईले भने, ‘गुट निर्माणमा होइन संगठन निर्माणमा लागौं।’