प्रेमप्रसादको नियति भोग्न नपरोस् भन्दै चितवनका उद्योगी–व्यवसायी उत्रिए सडकमा

February 6, 2023 4:21 pm

२३ माघ, भरतपुर ।
उद्योग वाणिज्य संघ–चितवनको आयोजनामा आज चितवनका उद्योगी–व्यवसायी सडक आन्दोलनमा उत्रिएका छन् । नारायणगढ स्थित लायन्सचोकमा प्लेकार्ड सहित प्रर्दशनमा उत्रिएका उद्योगी व्यवसायीहरुले ‘गरिखाने मर्दै छ, सरकारको राजश्व घट्दै छ’ एकल अंकको व्याजदर कायम गर, भन्दै नाराबाजी विरोध कार्यक्रम गरेको छन ।

संसद भवन अगाडी देहत्यागको प्रयास गरेका इलामका व्यवसायी प्रेमप्रसाद आचार्यको नियति कसैले भोग्न नपरोस् भन्दै नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा उद्योग वाणिज्य संघ–चितवनका पुर्व अध्यक्ष सहनलाल प्रधानले व्यवसायीमैत्री नीति ल्याउन सरकारलाई दबाब दिने बताउनुभयो ।

संघका प्रथम उपाध्यक्ष चिरञ्जिवि सुवेदीले उद्योगी–व्यवसायीलाई निराश पारेर देशको अर्थतन्त्र मजबुत बन्न नसक्ने टिप्पणी गर्नुभयो । संघका उपाध्यक्ष राजेन्द्र ओलीले राज्यलाई कर तिरी राज्य सञ्चालनमा योगदान दिने तर राज्यको तर्फबाट दायित्व पुरा नगर्दा व्यवसायी सडकमा ओर्लन बाध्य भएको उँहाको भनाई थियो ।

संघका उपाध्यक्ष शिरिष पन्तले स्वदेशमै रोजगारी सृजना गर्न लागेका युवाहरु समेत विदेश पलायन हुने स्थिति आउन थालेको बताउनु भयो । उद्योग वाणिज्य संघ–चितवनको नेतृत्व र पहलमा आजै चितवन जिल्लका रत्ननगर उद्योग वाणिज्य संघ, खैरहनी उद्योग वाणिज्य संघ, राप्ती उद्योग वाणिज्य संघ, कालिका उद्योग वाणिज्य संघ, माडी उद्योग वाणिज्य संघ, इच्छाकामना उद्योग वाणिज्य संघ, गैंडाकोट उद्योग वाणिज्य संघहरुले पनि एकै समयमा आन्दोलनको कार्यक्रमहरु गरेका थिए ।