गैँडा संरक्षणका लागि घोषणापत्र जारी गर्दै सकियो चितवनमा भएको अन्तर्राष्ट्रिय छलफल

February 6, 2023 4:04 pm

चितवन: एकसिङ्गे गैँडा पाइने एसियाली देशहरुको तेस्रो बैठक चितवनमा सम्पन्न भएको छ । चितवन राष्ट्रिय निकुञ्जमा सम्पन्न भएको सो बैठकमा गैँडा पाइने एशियाली मुलकहरु नेपाल, भारत, भुटान, इण्डोनेशिया र मलेशियाका सरकारी अधिकारीहरु, विश्व संरक्षण संघको ‘स्पेसिस सरभाइभल कमिशन’का अधिकारीहरु, एशियन गैँडा विज्ञ समूह, संरक्षण साझेदार संघसंस्थाका प्रतिनिधिहरु, विज्ञहरु, गैँडा संरक्षणका लागि क्रियाशीद आर्थिक तथा प्राविधिक सहयोग पुयाउने दातृ निकायका प्रतिनिधिहरु, स्थानीय सरोकारवालाको सहभागिता रहेको थियो ।

माघ २० देखि २२ गतेसम्मे चितवन राष्ट्रिय निकुञ्जमा भएको तेस्रो बैठकले ‘एसियन गैँडा संरक्षणको लागि चितवन घोषणापत्र–२०२३’ जारी गरेको छ । नेपालको आयोजनामा भएको बैठकलाई एसियन गैँडा विज्ञ समूह, विश्व संरक्षण संघको स्पेसिस सरभाइभल कमिशनले सहजीकरण गरेको थियो ।

गैँडा संरक्षणसम्बन्धी पहिलो बैठक २०१३ मा इण्डोनेशिया र दोस्रो बैठक २०१९ मा भारतमा सम्पन्न भएको थियो । उक्त बैठकमा नेपाल, भारत, भुटान, इण्डोनेशिया र मलेशियाले संरक्षणका क्षेत्रमा आफ्ना देशले सञ्चालन गरेका क्रियाकलाप र त्यसबाट आएको प्रतिफलसम्बन्धी अनुभव, सफल कार्यविधि, लागु गरिएका प्रविधि तथा भावी योजनाजस्ता विषयहरुको प्रस्तुतिसहित छलफल गरिएको थियो ।

यसै गरी गैंडा संरक्षणको लागि सहकार्य गरी गर्नुपर्ने कार्यहरु, भावी प्राथमिकताका क्षेत्रहरु, गैंडाको चोरी शिकार तथा तिनका अङ्गको अवैध व्यापार नियन्त्रण, खण्डीकरण र क्षयीकरणबाट वासस्थानको सुरक्षा तथा गर्नुपर्ने सुधार, गैडाको व्यवस्थापन, गैंडा–मानव द्वन्द व्यवस्थापन, वन्यजन्तुको स्वास्थ्य, सीमापार समन्वय र सहकार्य तथा जलवायुजन्य असरलाई न्यूनीकरण गर्ने विषयहरुमा विस्तृत छलफल गरिएको थियो ।

बैठकका एजेण्डाहरुलाई ६ खण्डमा विभाजन गरी गैंडा संरक्षणको अवस्था सम्बन्धी राष्ट्रिय प्रतिवेदन, गैंडा संरक्षणको लागि प्रविधिको प्रयोग तथा सहकार्य, संरक्षण तथा चोरी शिकार नियन्त्रण, जलवायु परिवर्तन तथा गैडा संरक्षण, गैंडा संरक्षणमा अन्तर्राष्ट्रिय संघ संस्थाको सहयोग, गैंडाको वाससस्थानको स्थलगत अवलोकन सम्बन्धी विषयहरु समावेश भएको थियो ।

सन् २०१९ मा भारतमा सम्पन्न भएको दोस्रो बैठकले जारी गरेको ‘एशियन गैंडाको लागि नयाँ दिल्ली घोषणापत्र २०१९’ को पुनरावलोकन गर्दै “एशियन गैंडा संरक्षणको लागि चितवन घोषणापत्र–२०२३ जारी गर्दै बैठक सम्पन्न भएको हो । उक्त घोषणा पत्रमा गैंडा पाइने एशियाली राष्ट्रहरुको ६ वटा मुख्य विषयगत क्षेत्रहरु गैंडा संरक्षण, गैंडाको संख्या व्यवस्थापन, वासस्थान व्यवस्थापन, अनुसन्धान, अनुगमन तथा सूचना आदानप्रदान, समन्वय र सहकार्यमा सहमति जनाइएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक अजय कार्कीले बताए ।