कृष्ण मन्दिरमा आयोजित स्वास्थ्य परिक्षणमा १ सय १५ ले लिए सेवा, ३९ ले गरे रक्तदान

February 4, 2023 8:35 pm

२१ माघ, रत्ननगर ।
श्रीकृष्ण प्रणामी मन्दिर टिकौलीको ३३ औँ स्थापना दिवसको अवसरमा श्रीकृष्ण प्रणामी यूवा परिषद नेपाल प्रारम्भिक समिति टिकौलीले आज मन्दिर प्राङ्गढमा आयोजना गरेको रक्तदान कार्यक्रममा ८ महिला, ३१ पुरुष गरि ३९ जनाले रक्तदान गरेका छन् । उक्त रक्तदान कार्यक्रममा १ विदेशी नागरिकले समेत रक्तदान गरेको आयोजकले जानकारी दिएका छन् ।

त्यस्तै रत्ननगर बकुलहर अस्पताल संग सहकार्य गरी आजै आयोजना गरिएको नि:शुल्क स्वास्थ्य परिक्षण कार्यक्रममा १ सय १५ जनाले सेवा लिएका छन् । उक्त कार्यक्रममा औषधि समेत नि:शुल्क वितरण गरिएको थियो । शिविरमा स्त्रीरोग सेवा, हाडजोर्नी तथा नशारोग बिशेषज्ञ सेवा, जनरल फिजिसियन सेवा, जनरल सर्जन सेवा, बालरोग बिशेषज्ञ सेवा, नाक, कान तथा घाटी रोगका बिशेषज्ञ डक्टरहरु द्वारा सेवा प्रदान गरिएको श्रीकृष्ण प्रणामी यूवा परिषद नेपाल प्रारम्भिक समिति टिकौलीका अध्यक्ष केशबराज बरालले जानकारी दिए ।