रत्ननगरका विपन्न परिवारलाई निःशुल्क खानेपानी धारा वितरण

February 3, 2023 5:20 pm

रत्ननगर, माघ २०
रत्ननगर नगरपालिका वडा नम्बर १ का विपन्न परिवारलाई निःशुल्क खानेपानी धारा वितरण गरिएको छ । वडा कार्यालयले १८ विपन्न घर परिवारलाई वडाको बजेटमा निः शुल्क खानेपानीको धारा हस्तान्तरण गरेको हो । विपन्न वर्गलाई खानेपानी धारा जडान उपभोक्ता समितिले शुक्रबार कार्यक्रमको आयोजना गरि १८ घर परिवारलाई धारा हस्तान्तरण गरेको समितिका अध्यक्ष काशिराम शर्माले जानकारी दिए । सोही कार्यक्रममा शौचालय नहुँदा समस्या भोग्दै आइरहेकी सुनिता महतोलाई परिवारलाई नि:शुल्क शौचालय पनि हस्तान्तरण गरिएको शर्माले बताए ।

रत्ननगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था ले ५० प्रतिशत छुट र बाँकी रकम वडाले बेहोर्ने गरि धारा जडान गरि हस्तान्तरण गरीएको वडा अध्यक्ष कुल प्रसाद सापकोटाले बनाए । वडा अध्यक्ष सापकोटाले वडाका विपन्न घरपरिवारलाई खानेपानीको धारा वितरण भएपछि शुद्ध खानेपानीको अभावका कारण परिवारले भोग्दै आएको समस्या समाधान हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा बोल्दै रत्ननगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था का अध्यक्ष माधव अर्यालले नगरपालिका तथा वडा संग समन्वय गरेर अगाडी बढेको बताउँदै आवश्यक सहयोग गर्न तयार रहेको बताए । उनले नगरका विपन्न तथा सुकुम्बासीको लागि ५० प्रतिशत छुटमा संस्थाले धारा जडान गरिरहेको समेत जानकारी दिए ।

वडा सचिव सुर्य ढुङ्गानाले संचालन गरेको कार्यक्रममा वडा सदस्य उमा देवी पौडेलले स्वागत मन्तव्य राखेकी थिइन ।