राहदानी र राष्ट्रिय परिचयपत्रका लागि अब सास्ती खेप्नु पर्दैन : प्रजिअ पौडेल

February 2, 2023 3:54 pm

चितवन : प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ सरुवा भएपछि जिल्ला प्रशासन कार्यालय चितवनको जिम्मेवारी सम्हाल्न चितवन आएका नयाँ प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बुधबार चितवनका सञ्चारकर्मीहरुसँग साक्षात्कार गरेका छन् । अघिल्लो हप्ता मात्र चिवनको जिम्मेवारी सम्हालेका सिडिओ पौडेलले जिल्लामा राहदानी र राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई सहज बनाउने बताए ।

चितवनमा ‘राहदानी (पासपोर्ट) का लागि एक महिनामा ३ हजार जनाले एकैपटक अग्रीम अनलाइन फाराम भर्ने व्यवस्था मिलाइएको छ’, प्रजिअ पौडेलले भने, ‘यसका लागि दैनिक १ सय २० जनाले सेवा लिन सक्नेछन् ।’ सो अवसरमा उने उनले राष्ट्रिय परिचयपत्र बनाउन आउने सेवाग्राहीहरुको चापलाई मध्यनजर गर्दै छिटोछरितो सेवा प्रवाह गर्न आफूले मातहतका कर्मचारीलाई निर्देशन दिएको बताए ।

उक्त अवसरमा प्रजिअ पौडेलले चितवन देशकै केन्द्रबिन्दु रहेकोले पनि यहांँ विभिन्न चुनौतीसंँग अवसर प्राप्त हुने बताए । चितवनको आफ्नो बसाइँमा धेरै अनुगमन र हैरानी गर्नेभन्दा पनि सुशासनको प्रणाली स्थापना गर्नेतर्फ बढी ध्यान केन्द्रित गर्ने उनले बताए । बिगत २८ बर्षदेखि गृह मन्त्रालयअन्तर्गत विभिन्न भुमिकामा रहेर काम गर्दै आएका पौडेल धनुषाको प्रमुख जिल्ला अधिकारीबाट सरुवा भई केही दिन अघि मात्र चितवन आएका हुन् ।

नयाँ प्रमुख जिल्ला अधिकारीले गरेको पत्रकारसँगको उक्त साक्षात्कार कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारीहरु चिरञ्जीवी शर्मा र राजु पौडेलको पनि सहभागिता थियो ।