सौराहामा साइकललेन सहितको नमुना पर्यटकीय मार्ग निर्माण सुरु

February 1, 2023 5:34 pm

रत्ननगर । चितवनको पर्यटकीय नगरी सौराहामा साइकललेन सहितको नमुना सडक निर्माण कार्यको प्रारम्भ गरिएको छ । सौराहाको पर्यटन विकासका लागि १४ करोड १० लाखको लगानीमा सडक निर्माण सुरु गरिएको हो ।

रत्ननगरका मेयर प्रल्हाद सापकोटाको पहलमा केन्द्र सरकारको लगानीमा आर्कषक सडक निर्माण कार्य सुरु भएको हो । राष्ट्रिय योजना आयोगका निर्वतमान उपाध्यक्ष डा.विश्वनाथ पौडेलको सहजीकरणमा परेको सो सडक बुधबार मेयर सापकोटाले शिलान्यास गरेसंग निर्माणको काम सुरु भएको छ ।

सौराहाको राप्तीड्याक देखि पूर्व तर्फ हर्नहरी पुल सम्म करिब एक हजार ५०० मिटर नमुन सडक निर्माण हुने छ । १५ मिटर चौडारी रहने सडकमा कलोपत्रे पिचसंगै साइकललेन,फुटपाथ र ढल निर्माण हुने छ । सौराहाको पर्यटन विकासको लागि केन्द्र सरकारसंग पहल गरेर नमुना सडकको लागि बजेट पारेको मेयर सापकोटाले बताए ।

सौराहा १५/२० बर्ष अघि जस्तै छ, खासै विकास हुन सकेको छैन् उनले भने विकास नभइ पर्यटन क्षेत्रले फड्को मार्न सक्दैन, विकास गरेर पर्यटक भित्र्याउन यो कामको सुरुवात गरिएको हो । सौराहालाई बाढीको जोखिमबाट जोगाउन फेब्रिक ड्याक निर्माणपछि नमुना सडक निर्माण सुरु गरिएको हो । राप्ती नदी किनारमा अबस्थित सौराहालाई बाढीको जोखिमबाट जोगाउदै थप विकास गर्ने आफ्नो उद्देश्य रहेको मेयर सापकोटाको भनाई छ । उनले सौराहालाई विदेशी पर्यटन क्षेत्रको मोडलमा विकास गर्ने बताए ।

झुवानीमा वाटर किङडम निर्माणको काम सुरु भइसकेको भन्दै मेयर सापकोटाले चित्रसारीमा सिग्नेचर पुल निर्माणको लागि अध्यायन सकिएको बताए । शहरी विकास मन्त्रालय अन्तर्गत सघन शहरी तथा भवन निर्माण आयोजनाले नमुना सडक निर्माण सुरु गरेको हो । २०७९ मंसिर २८ गते सम्झौता भएको सो आयोजनाको बुधबार देखि औपचारिक रुपमा काम सुरु भएको हो । २०८१ जेठ २८ गते निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरिएको सो नमुना सडकले सौराहाको पर्यटनलाई कुमरोजहुँदै लोथर सम्म जोडन महत्वपूर्ण भूमिका खेल्ने वडा नं ६ का वडाध्यक्ष किरण महतोले बताए ।

सौराहाको विकासको बजार क्षेत्रमा सडक फराकिलो तथा आधुनिक ढल निर्माण भइरहेको उनले बताए । नमुना सडक शिलान्यास कार्यक्रममा नेपाली काँग्रेसका प्रदेश समिति सदस्य रामकुमार अर्याल,नेकपा एमालेका वडा कमिटी अध्यक्ष रामचन्द्र सापकोटा,नेकपा माओवादी केन्द्रका नगर उपाध्यक्ष बासुदेव चापागाई, पहल समितिका संयोजक बलराम दाहाल लगायतले मन्तव्य राखेका थिए ।

वडाध्यक्ष महतोको अध्यक्षतामा भएको कार्यक्रममा नगरपालिकाका विज्ञ सल्लहाकार रामहरि न्यौपाने, प्रबक्ता कुलप्रसाद सापकोटा, वडाध्यक्षहरु सोहेन्द्रराज खरेल, वालकृष्ण चापागाईँ, कार्यपालिका सदस्य बविता चौधरी, वडासदस्यहरु गोपी विडारी,केशरीमाया सुनार,बीरेन्द्र चौधरी लगायतले लगायतको सहभागिता रहेको थियो । कार्यक्रम वडा सचिव रमेशलाल ताम्राकारले सञ्चालन गरेका थिए ।