जिल्ला प्रशासनबाट रवि लामिछानेले लिए नेपाली नागरिकताको प्रमाणपत्र

January 29, 2023 6:37 pm

काठमाडौँ, १५ माघ। रवि लामिछानेले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पुन: नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् । अनागरिक भएका लामिछाने आज नेपाली नागरिकताको प्रमाणपत्र लिन आज जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेका थिए ।

उनले नागरिकता पुनः प्राप्तिका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दिएका थिए । लामिछानेले अमेरिकाको नागरिकताको प्रमाणपत्र त्यागिसकेका र त्यसको निस्सा पाइसकेकाले उक्त निस्सा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बुझाएसंगै उनले पुन: नागरिकता प्राप्तिको प्रक्रिया अघि बढेको थियो ।

उनले नागरिकताको प्रतिलिपि प्राप्त गरेपछि निस्सा दर्ता गर्नासाथ बंशजको आधारमा उनले पुरानै अभिलेख अनुसार नागरिकताको प्रमाणपत्र पाएका हुन् । उनले यसअघि नागरिकता प्रमाणपत्र लिनका लागि उनले प्रशासनसँग पनि समन्वय गरेका थिए ।

शुक्रबार सर्वोच्च अदालतको फैसलापछि अनागरिक बनेका लामिछानेले नागरिकता पुनः प्राप्तिका लागि प्रक्रिया अघि बढाएका थिए । जिल्ला प्रशासनले सर्वोच्च अदालतको आदेशका कारण नागरिकता दिनुपर्ने हो कि भन्दै थप कानूनी राय र अरु प्रक्रिया आवश्यक पर्ने नपर्नेबारे जिज्ञासा राखेको थियो ।

नेपाली नागरिकता लिन लामिछाने जिल्ला प्रशासन कार्यालय पुगेपछि त्यहाँ ठूलो भिडभाड भएकोले बाक्लोरुपमा सुरक्षाकर्मी परिचालन गरिएको छ । लामिछाने नागरिकता लिन आउने भएपछि बिहानैदेखि जिप्रका परिसरमा उनका कार्यकर्ता, समर्थक र सञ्चारकर्मीको बाक्लो उपस्थित रहेको छ ।

लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिइसकेतापनि जिल्ला प्रशासन कार्यालय परिसरमा भिडभाड भएकोले उनी केही समयपछि मात्र बाहिरिने भएका छन् ।