नागरिकता प्रकरणमा रवि लामिछाने दोषी ठहर, मन्त्री र सांसद पद खारेज

January 27, 2023 6:15 pm

काठमाडौं। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नेपाली नागरिकता प्रकरणमा दोषी ठहर भएका छन्। शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासले उनलाई नागरिकता प्रकरणमा दोषी ठहर गरेको हो। यससँगै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेको नागरिकता कायम नरहेको ठहर गर्दै सांसद पद खारेज गरिदिएको छ।

उनले नेपाल नागरिकता पुन:प्राप्तिको प्रक्रिया पुरा नगरेको भन्दै उनी सांसद बन्न अयोग्य ठहर गरेको हो। योसँगै उनी सांसद र उपप्रधान तथा गृहमन्त्री हुन अयोग्य भएका छन्। कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की नेतृत्वमा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वर खतिवडा, आनन्दमोहन भट्टराई र अनिल सिन्हा संलग्न संवैधानिक इजलासले शुक्रबार उनी विरुद्ध परेको मुद्दाको फैसला गर्दै नागरिकता कायम नहुने ठहर गरेका हुन्।

गृहमन्त्री रवि लामिछाने गत मंसिर ४ मा सम्पन्न निर्वाचनमा चितवन-२ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्दा उनीसँग नेपाली नागरिकता नभएको भन्दै उनको उम्मेदवारी नै खारेजी गर्न माग गर्दै अधिवक्ताहरू रविराज बसौला र युवराज पौडेलले रिट दायर गरेका थिए।