रत्ननगर अस्पतालका बिरामीलाई फलफूल वितरण

January 25, 2023 6:46 pm

रत्ननगर, माघ ११ ।
रत्ननगर नगरपालिकाको २७औँ स्थापना दिवसको अवसरमा बकुलहर रत्ननगर प्रादेशिक अस्पतालमा उपचाररत बिरामीहरुलाई फलफूल वितरण गरिएको छ । रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले बुधबार बिहान अस्पतालको जनरल वार्ड, पोस्ट सर्जिकल वार्ड, बच्चा वार्ड र पोस्ट अप वार्डमा उपचाररत बिरामीलाई फलफूल वितरण गर्दै बिरामीको स्वास्थ्य अवस्था र सेवाबारे जानकारी लिएका थिए ।

सो अवसरमा उनले नगरपालिकाको सामाजिक उत्तरदायित्वअन्तर्गत बिरामीलाई फलफूल वितरण गरिएको बताए । उनले अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोपालराज कर्माचार्यसँग अस्पतालबाट प्रदान गरिएका सेवासुविधाबारे चासो राख्दै बिरामीका गुनासा अवगत गराएका थिए ।
उनले अतिविपन्न र असहाय व्यक्तिले पनि उपचार सेवा पाऊन् भन्ने हेतुले रत्ननगर नगपालिकाले ३० लाख रुपैयाँको कोष स्थापना गरेको स्मरण गराउँदै स्वास्थ्य सेवाबाट कोही पनि वञ्चित हुन नहुने धारणा राखे ।

सो अवसरमा अस्पतालका अध्यक्ष कर्माचार्यले मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रमअन्तर्गत हरेक शुक्रबार बिहान ८ बजेदेखि १० बजेसम्म निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिए । उपचार खर्चको अभावमा कुनै पनि नागरिक आफ्नो स्वास्थ्य अवस्थाको बारेमा अनभिज्ञ रहन नपरोस् भन्ने उद्देश्यले सो कार्यक्रमको थालनी गरिएको उनले बताए । स्वस्थ नागरिक बनाउन र बेलैमा रोगको पहिचान गरी उपचारमा सहज बनाउन सो कार्यक्रम प्रभावकारी हुने उनको भनाइ थियो ।

अस्पतालका जनस्वास्थ्य अधिकृत रामचन्द्र श्रेष्ठका अनुसार स्वास्थ्य बिमा नगरेका जोसुकैले करिब तीन हजार रुपैयाँबराबरको भिडियो एक्सरे, इसिजी, प्याथोलोजी र रगत परीक्षणलगायतका सेवा लिन सक्ने छन् ।
बिरामीहरुलाई फलफूल वितरण कार्यक्रममा रत्ननगर नगरपालिकाका विज्ञ सल्लाहकार रामहरि न्यौपाने, वडाध्यक्षहरु कुलप्रसाद सापकोटा, सोहेन्द्रराज खरेल, कृष्ण चौधरी, अनन्त अधिकारी, कलाधर पौडेल, पोटबहादुर घिमिरे, रत्ननगर नगरपालिकाका न्यायिक समिति सदस्य देवेन्द्र भुजेल, स्टोर शाखा प्रमुख डिम्बेश्वरी पौडेल, कार्यपालिका सदस्य राजेन्द्र हमाललगायतको सहभागिता रहेको थियो ।