वन्यजन्तु मार्ने घटनाका दोषीलाई कारबाही गर्न सौराहा जेसीजको माग

January 25, 2023 5:46 pm

माघ ११, सौराहा ।
वन्यजन्तु मार्ने घटनाका दोषीलाई कारबाही गर्न सौराहा जेसीज परिवारले माग गरेको छ ।
आज एक विज्ञप्ती जारी गर्दै जेसीजले गत हप्ता नारायणी नदीको भंगालोमा गैंडाका आमा र छोरा मृत भेटिएपछि यस घटनाप्रति दुःख प्रकट गर्दै बन्यजन्तु मार्ने घटनाका दोषीलाई आवश्यक छानविन गरी कारबाही गर्न माग गरेको हो ।

(संरक्षणमा युवा) भन्ने मुख्य नारा लिएको जेसीजले यस घटनाको आवश्य छानविन गरी घटनामा संलग्न दोषीहरुलाई कानुन बमोजिम सजाय गरियोस् भन्दै सम्पूर्ण संरक्षण विद, सरोकारवाला र सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएको छ । जेसीजका अध्यक्ष सुरेश भुसालद्धारा जारी गरेको विज्ञप्तीमा भनिएको छ–‘ नेपालको पहिलो राष्ट्रिय निकुञ्जको रुपमा स्थापना भएको चितवन राष्ट्रिय निकुञ्ज जसलाई, जीव जनावर र प्रकृतिको राजधानीका रुपमा चिनिन्छ । प्राकृतिक सौन्दर्यताले हराभरा, जैविक विविधताले भरीपूर्ण वन्यजन्तु र पंक्षीहरुको उत्कृष्ट वासस्थान भएको यस क्षेत्रमा पाइने एक सिंगे गैँडाले सुनमा सुगन्ध थप्ने काम मात्र गरेको छैन । यसले निकुञ्ज र नेपालको गरिमा विश्वसामु उच्च विन्दुमा पुर्याएको छ ।

पछिल्लो समय विद्युतीय धराप थापेर गैँडा मार्ने र खाकको तस्करी गर्ने घटना बढ्दै गइरहेको समाचार पनि हाम्रा लागि कुनै नौलो विषय भने होइन । गत हप्ता मात्रै नारायणी नदीको भंगालोमा गैंडाका आमा र छोरा मृत भेटिएको खबरले हामी सम्पूर्ण सौराहा जेसीज परिवारलाई मर्माहित तुल्याएको छ । “संरक्षणमा युवा भन्ने मुख्य नारा लिएको यस सौराहा जेसीज यस घटनाप्रति दुःख प्रकट गर्दै यसमा आवश्य छानविन होस् र घटनामा संलग्न दोषीहरुलाई कानुन बमोजिम सजाय गरियोस् भन्दै यस विज्ञप्ती मार्फत सम्पूर्ण संरक्षण विद, सरोकारवाला र सम्बन्धित निकायलाई पनि ध्यानाकर्षण गराउँदछौं ।” विज्ञप्तिमा भनिएको छ ।