चितवनमा गैँडा संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय छलफल हुने

January 23, 2023 2:51 pm

चितवन । दुर्लभ मानिएको एक सिङ्गे गैँडा संरक्षणसम्बन्धी छलफल गर्न एसियाका पाँच देशका उच्च अधिकारीहरु चितवन आउने भएका छन् ।

‘थर्ड राइनो रेञ्ज कन्ट्रिज मिटिङ’ का लागि उनीहरु नेपाल आउने भएका हुन् । यही फेब्रुअरी ३ देखि ५ सम्म चितवनको पटिहानीमा गैँडा संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय बैठक हुन लागेको हो ।

नेपाल, भारत, भूटान, इन्डोनेसिया र मलेसियाका उच्च अधिकारीहरु बैठकमा सहभागी हुने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी डा गणेश पन्तले जानकारी दिनुभयो । नेपालबाट निकुञ्ज र वन विभागका महानिर्देशकसहित मन्त्रालयका सहसचिवहरु बैठकमा सहभागी हुनुहुनेछ ।

अन्य देशबाट समकक्षीसहित गैँडाका क्षेत्रमा काम गर्ने विज्ञहरु सहभागी हुने उहाँले जानकारी दिनुभयो । फिल्डमा काम गर्ने कर्मचारीहरु भने पर्यवेक्षकका रुपमा सहभागी हुनेछन् । एकसिङ्गे गैँडा भारतमा सबैभन्दा बढी पाइन्छ भने नेपाल एकसिङ्गे गैँडा पाउने देशमध्ये दोस्रो स्थानमा पर्दछ ।

बैठकमा गैँडा संरक्षणमा देखिएका चुनौतीका विषयमा छलफल गरी आगामी योजनाहरु तय गरिने बताइएको छ । यसअघि गैँडा संरक्षणसम्बन्धी पहिलो अन्तर्राष्ट्रिय बैठक इन्डोनेसिया र दोस्र्रो भारतको दिल्लीमा भएको थियो ।-रासस