धुर्मुस–सुन्तली फाउण्डेसनले ऋणको छिनोफानो गरे रंगशालाको काम अघि बढ्छ : मेयर दाहाल

January 23, 2023 2:49 pm

चितवन, माघ ९ । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले धुर्मुस–सुन्तली फाउण्डेसनले रंगशाला निर्माणमा लागेको ऋणको छिनोफानो गरे भोलिबाटै निर्माणको काम अगाडि बढ्ने बताएकी छन् ।

एक टेलिभिजन कार्यक्रममा कुराकानी गर्दै दाहालले रंगशाला निर्माणको काम अधुरो भएकोमा आफू चिन्तित भएको बताउँदै ऋणले निर्माणको काम अगाडि बढाउन समस्या भएको बताएकी हुन् ।

उनले रंगशाला निर्माणमा आफू इमान्दार रहेको भन्दै रंगशालाको कुरा फाउण्डेसन र महानगरपालिकाको बीचमा सम्झौता भएको बताइन् । उनले भनिन्, ‘सम्झौतामा धुर्मुस–सुन्तली फाउण्डेसनले स्रोत जुटाएर रंगशाला बनाउने र महानगरले जग्गा उपलब्ध गराउने सम्झौता भएको हो । निर्माण सम्पन्न भएपछि महानगरलाई हस्तान्तरण गर्ने भन्ने थियो ।’ उनले फाउण्डेसनले ऋण तिरेपछि बाँकी काम पूरा गर्ने आफूहरुको दायित्व भएको बताएकी छन् ।

उनले भनिन्, ‘ऋण नहुन्थ्यो भने प्राथमिकतामा रंगशालामा योजना छ । संघीय सरकारले २२ करोड छुट्याएको छ । ऋण तिर्न कानुनी अड्चन छ । मन्त्रीमण्डलको कयौपटक बैठक बसे पनि उपाय नै निस्केन ।’ उनले अन्तरवार्तामा धुर्मुस सुन्तलीले ऋण गरी गरी रंगशाला निर्माणको काम गर्न नहुने बताइन् । मेयर दाहाले भनिन्, ‘ऋण तिर्ने उपायकै बारेमा लागिरहेका छौं । मेरो सबैभन्दा चिन्ताको विषय नै रंगशाला नै छ । ऋण तिरियो भने अगाडि बढ्छ, नत्र फाउण्डेसनले अर्काै उपाय चलाएर ऋण तिर्नुपर्छ । सबैले सहयोग गरेर त्यती बन्यो । ऋण भएको कारणले काम अगाडि बढ्न सकेन । फाउण्डेसनले ऋण लाउनुहुन्थेन ।’

उनले मेयरको रुपमा पहिलो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेर दोस्रो कार्यकाल घेराबन्दीको बीचबाट पनि भरतपुरकी मेयरको रुपमा जित्न सफल भएको दाबी गरिन् । उनले भनिन्, ‘मेरो पारिवारिक र व्यक्तिगत जीवन छैन । सहजरुपमा जो कोही काम लिएर घरमा वा कार्यालयमा आउन सक्नुहुन्छ । भरतपुरको कामले दुई दिन पनि काठमाडौँ गएर बस्न सक्दिन ।’ उनले जेठो सन्तान हुनुको नाताले , बुबालाई हौसला दिनको लागि सल्लाह सुझाव दिनको लागि, बफादार सिपाहीरुपमा बेलाबेलामा काठमाडौँ जाने गरेको विचार राखिन् ।