आज सोनाम ल्होसार पर्व, तमाङ समुदायको नया बर्ष

January 22, 2023 12:10 pm

चितवन, माघ ८ । तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।

मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५९औँ वर्ष शुरु हुन्छ । आजदेखि मुसा वर्ष पूरा गरी गाई वर्ष प्रवेश हुन्छ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ । ल्होसारका १२ वटै वर्ष पशुपक्षीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको हुन्छ ।

तामाङ जातिको बाहुल्यता रहेको प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ । कूल पुजा र प्रकृति पुजा गर्दै मनाइने यस पर्वलाई तामाङ समुदायले विशेष उत्सवका रुपमा मनाउने गरेका छन् । सरल र मिलनसार यो समुदाय समूहगतरुपमा शुभकामना आदानप्रदान गर्दै मिठो मसिनो खाने र रमाइलो गर्ने गर्दछन् ।

यस वर्ष आईतवार मनाइने पर्वका अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएको छ ।