गृहमन्त्री भन्छन्- ‘मिडियाको हेडलाइन बदल्न सक्दिन, पुराना फरारहरु समातिन्छ्न्’

January 21, 2023 5:30 pm

काठमाडौँ, माघ ७ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवी लामिछानेले सञ्चारमाध्यमप्रति असन्तुष्टि जनाएका छन् ।

हत्याअभियोग लागेर फरार सांसद संसदमै उपस्थित हुँदासमेत गृहमन्त्री मुख दर्शक बनेको भन्दै आलोचना भएपछि लामिछानेले सामाजिक सञ्जाल फेसबुकमार्फत अभियुक्त समातिने बताएका हुन् । यसअघि मन्त्रालयले एमालेका फरार सांसद लक्ष्मी महतो कोइरीलाई पक्रन प्रहरीलाई निर्देशन दिएको थियो ।

प्रतिनिधिसभामा बिहीबार नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले कोइरी पक्राउ नपरेकोसम्बन्धमा गृहमन्त्री लामिछानेको ध्यानाकर्षण गराएका थिए । ‘पुराना फरारहरु समातिन्छन् मात्र होइन धेरै नयाँहरु फरार हुन नपाउन् भन्ने कुराको हेक्का छ।’ उनले लेखेका छन्, ‘हिजो बोलेका शब्द(शब्दको हेक्का छ, भोट माग्दा गरेका वाचाहरूको हेक्का छ ।’ लामिछानेले टेलिभिजनमा बोलेका कुराहरु अहिले सामाजिक सञ्जालमा भाइरल भएका छन् ।

हिजो पत्रकार हुँदा नेता र सरकारको खेदो खन्ने अहिले आफू जिम्मेवारीमा पुग्दा स्टन्टबाजी र पुरानै नेताको जस्तो हबिगत देखिएको भन्दै विरोध भइरहेको छ । त्यतिमात्र होइन उनले पत्रकारिताप्रति नै असन्तुष्टि जनाएका छन् । ‘मिडियाको हेडलाइन म बदल्न सक्दिन तर जनताको लाइफलाइन बदल्न मेहनत गर्दैछु । धुलो धेरै छ, पुरानो छ.. थोरै पर्खिनु चाहिँ पर्छ!!’ लेखेका छन् ।