बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले पाए विश्वासको मत

January 17, 2023 5:40 pm

हेटौंडा : बागमती प्रदेशको मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत पाएका छन् । उनलाई १०५ सांसदले विश्वासको मत दिएका हुन् । मुख्यमन्त्री नियुक्त भएको नवौं दिनमा उनले विश्वासको मत पाएका छन् । प्रदेश सभाका सभामुख भुवन पाठकले प्रस्तावको पक्षमा १०५ र विपक्षमा ३ मत खसेको सदनलाई जानकारी दिए ।

११० सदस्यीय प्रदेशसभामा १ जना सांसद अनुपस्थित रहे । जमकट्टेलले प्रदेशसभाको सबैभन्दा ठुलो दल नेपाली कांग्रेसको पनि विश्वासको मत प्राप्त गरेका छन् भने प्रदेश सभामा प्रतिनिधित्व गर्ने सातमध्ये छ दलले उनलाई विश्वासको मत दिएको छ ।

पुस २५ गते मुख्यमन्त्री नियुक्त हुँदा जमकट्टेललाई नेपाली कांग्रेसले समर्थन गरेको थिएन । नेपाली कांग्रेस कार्यसम्पादन समितिको मंगलबार बिहान बसेको बैठकले मुख्यमन्त्री जमकट्टेललाई विश्वासको मत दिन संसदीय दललाई निर्देशन दिने निर्णय गरेको थियो ।

प्रदेश सभामा ३ जना मात्र सांसद रहेको नेपाल मजदुर किसान पार्टीले विपक्षमा मतदान गरेको छ । अब बागमती प्रदेश सभामा नेमकिपा मात्र प्रतिपक्षी दलको रुपमा रहेको छ । मुख्यमन्त्री जमकट्टेलले कांग्रेस सहित छ दलको विश्वास जुटाउन सफल भएका छन् ।