खिचरा महोत्सवको तेस्रो दिनमा उल्लेखीय दर्शक

January 14, 2023 7:53 pm

चितवन, पुस ३०–
आठौं खिचरा महोत्सवको तेस्रो दिन आज (शनिबार) हजारौं दर्शकहरुले अवलोकन गरेका छन् । शनिबार चर्चित गायक छेवाङ लामा, अमित चौधरी, विश्व चौधरी, सोनुप चौधरीले दर्शकहरुलाई मनोरञ्जन दिलाएका थिए । छेवाङ लामाले आधा दर्जन गीत गाएर मनोरञ्जन दिए । रत्ननगर कला मन्दिर र थारु लगायत विभिन्न जातजातिका आकर्षक नृत्यहरु समेत प्रस्तुति थियो ।

त्यस्तै, खिचरा डान्स आइडलको दोस्रो चरणको प्रतियोगिता सम्पन्न भएको छ । अडिसनबाट छनौट भएका २५ जना प्रतियोगीहरु मध्येबाट ७ जना फाइनलका लागि छनौट भएका छन् । खैरहनी मा.वि, खैरहनी–६ का सुमित्रा गिरी, जेसिका चौधरी, नविना भण्डारी, डेजी आवासीय मा.वि.का क्रिष्टिना त्रिपाठी, मदरल्याण्ड इङ्गलिश बोर्डिङ स्कुलको समूह नृत्य, ग्लो–साइन एकाडेमीका सुजा खत्री र हिमाल श्रेष्ठ युगल नृत्य, युनिभर्सल लर्निङ एकाडेमीका दिपिका चौधरी फाइनलमा प्रवेश गरेका छन् । नृत्य प्रतियोगिताको फाइनल माघ ३ गते हुने नृत्य प्रतियोगिताका संयोजक हरिशरण चौधरीले जानकारी दिए ।

त्यसैगरी आज (शनिबार) भलिबल प्रतियोगिताका सेमिफाइनल खेल सम्पन्न भएको छ । सैनिक महाविद्यालय सेकुरिटी ग्रुप र खैरहनी वडा नं. ९ फाइनलमा प्रवेश गरेका छन् । एपिएफ भण्डाराले तृतीय स्थान हासिल गरेको छ ।
त्यसैगरी शनिबार नै थारु साहित्य संरक्षणका लागि जिल्ला स्तरीय पेहनी होड सम्पन्न भएको छ । पेहनी होडमा थारु कल्याणकारिणी सभा क्षेत्र नं. ८ का टोली उत्कृष्ट घोषित भएको छ । टोलीमा टुवर महतो, कानन चौधरी, रामेश्वर चौधरी रहेका थिए ।
त्यसैगरी आज थारु संस्कृति झल्किने चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा स्काइराइडर आवासिय माविका समर्पण खनाल प्रथम, होली गार्डेन मोडर्न स्कुलका निरज चौधरी द्वितीय, डेजी आमाविका सुगम गौतम तृतीय भएका छन् । सैनिक आवासिय माविका तृशन आले मगरले शान्तवना स्थान हासिल गरेका छन् । विजेताहरुलाई आजै पुरस्कार वितरण गरिएको छ ।
यसैगरि महोत्सव अन्तरगत भोली (आइतबार) अर्थात् माघ १ गते महेश काफ्ले, आशिष सचिन, मनोज महतो, मुना अर्याल, रोहित चौधरी लगायत गायकहरुको गायन प्रस्तुति रहनुका साथै साम्राज्ञी आर.एल शाह, हास्यकलाकार जितु नेपाल लगायत ‘ह्यारी कि प्यारी’ फिल्मका टिमको पनि इन्ट्री रहने साँस्कृतिक संयोजक जयश चौधरीले जानकारी दिए । भोली नै द नेटिभ्स ब्याण्ड, थारु कलाकार सभाको देव महतो, अरिन चौधरी र रत्ननगर कला मन्दिर र थारु लगायत विभिन्न जातजातिका साँस्कृतिक नृत्य मनोरञ्जनात्मक प्रस्तुति रहने संयोजक जयश चौधरीले बताए ।
महोत्सवमा स्वदेशीसंगै विदेशी दर्शकहरुको समेत उपस्थिति रहेको छ ।