चितवन : पूर्वी चितवनको खैरहनी–५ जबकौली स्थित गौचरनमा आजदेखि ८ औँ खिचरा महोत्सव सुरु भएको छ । स्थानिय आदीवासी थारु समुदायहरुको संस्कृति संरक्षण गर्ने उद्देश्यसहित आयोजित महोत्सवको एक भव्य समारोहका बिच उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले उद्घाटन गरे । सो अवसरमा बोल्दै उनले थारु समुदायको उत्थान तथा पहिचानका लागि सक्दो काम गर्ने बताएका छन् । गृहमन्त्री लामिछानेले थारु समुदायसँग आफ्नो गहन मित्रता रहेको बताएका छन् ।
“लामो समय बाटो बिरायौँ, संस्कार, संस्कृति, पहिचाननै छुटेका छन्”, उनले भने, “थारु समुदायको संस्कार, संस्कृतिका लागि संघर्ष अझै गर्नुपर्छ, त्यो संघर्षमा हामी पनि सँगै हुनेछौँ ।” थारु अगुवाहरुले गृहमन्त्रीलाई पाहुनाका रुपमा शिरमा मुणेठा लगाएर सम्मान गरेका थिए । “यो शिरमा लगाइदिनुभएको पगरीले मलाई थप जिम्मेवार बनाएको छ”, उनले भने, “चाहिएका मुद्धा, कामहरुमा म सक्दो सहयोग गर्नेछु ।” उनले थारु समुदाय पाहुना सत्कारमा निकै अगाडी रहेको प्रसंग निकाल्दै थारु समुदायको हक, अधिकारका लागि सरकारले काम गर्ने बताए । उनले मेला, महोत्सवले अर्थतन्त्रलाई चलायमान बनाउन सघाउने बताए । गृहमन्त्रीलाई थारु समुदायको ठेकरा नाच समेत देखाइएको थियो । आजदेखि सुरु भएको महोत्सव माघ ४ गतेसम्म चल्नेछ । महोत्सवमा १५० भन्दा बढीस्टलहरु छन् । महोत्सवका संयोजक कृष्णलाल चौधरीले महोत्सवमा थारु समुदायको कला, संस्कृति, रहनसहनबारे अध्ययन तथा अवलोकन गर्न सकिने बताए । उनका अनुसार महोत्सवमा दुई दर्जन स्टलहरुमा थारु परिकारहरु खान पाइने छ ।
महोत्सवमा थारु समुदायले प्रयोग गर्ने परम्परागत सामाग्रीहरुको मिनि संग्राहलय समेत राखिएको छ । महोत्सवमा दैनिक साँस्कृतिक कार्यक्रमहरु समेत हुनेछन् । महोत्सव थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नम्बर ७ ले आयोजना गरेको हो ।