भोलिबाट सुरु हुँदै खिचरा महोत्सव,उद्‌घाटन गृहमन्त्री लामिछानेले गर्ने

January 11, 2023 8:34 am

चितवन, पुस २७–
चितवनको खैरहनीमा भोलि पुस २८ गतेदेखि सुरु हुने आठौं सँस्करणको ‘खिचरा महोत्सव–२०७९’ को समुद्घाटन गृहमन्त्री रवि लामिछानेले गर्नुहुने भएको छ । महोत्सव अतिथि सत्कार समितिका संयोजक नारायणप्रसाद महतोका अनुसार गृहमन्त्री एवं चितवन क्षेत्र नं.२ का सांसद रवि लामिछानेले दिउँसो १ बजे महोत्सवको समुद्घाटन गर्नुहुनेछ ।

गृहमन्त्री आउने हुनेभएपछि जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक नवराज अधिकारीले महोत्सव स्थलको निरीक्षण समेत गर्नुभएको छ । खैरहनी नगरपालिका–५ जबकौलीस्थित गौचरनमा हुने महोत्सवको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ । महोत्सव समुद्घाटन अघि मंगनी चोकदेखि महोत्सव स्थलसम्म झाकीसहितको शोभा यात्रा निकालिने महोत्सव मुल आयोजक समितिका संयोजक कृष्णलाल चौधरीले जानकारी दिए ।

माघ ४ गतेसम्म चल्ने महोत्सवमा १५० भन्दा बढी विभिन्न प्रकारका स्टलहरु रहेन छन् । महोत्सवमा दैनिक साँस्कृतिक कार्यक्रम अन्तरगत राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सांगीतिक कार्यक्रमहरु रहने छन् । यस्तै यसपटक तराईका २२ जिल्लाका थारु समुदायका थारु परिकारहरु महोत्सवमा खान पाइनेछन् । महोत्सवमा पहिलोपटक जिल्लास्तरीय भलिबल प्रतियोगिता, दैनिक विशेषज्ञ चिकित्सकहरुद्धारा निःशुल्क स्वाथ्य सेवा उपलब्ध हुनेछन् भने कृषि उपजहरु प्रदर्शनीमा राखिने छन् । यस्तै विविध मनोरञ्जनात्मक बाल उद्यानहरु समेत रहने आयोजकले जनाएको छ ।
यस्तै खिचरा डान्स आइडललगायतका अन्य प्रतियोगितात्मक कार्यक्रहरु समेत रहेको आयोजक थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं.७ का सभापति चुडामणि चौधरीले जानकारी दिए ।