प्रधानमन्त्री प्रचण्डलाई ऐतिहासिक बहुमतसहित विश्वासको मत

January 10, 2023 6:24 pm

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट ऐतिहासिक बहुमतसहित विश्वासको मत प्राप्त गरेका छन्। उनले सदनमा उपस्थित सदस्य संख्याको दुई तिहाइभन्दा बढी मत प्राप्त गरेका हुन्।

संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डले मंगलबार संविधानको धारा ७६ (४) को व्यवस्थाबमोजिम प्रतिनिधिसभाबाट विश्वासको मत लिएका हुन्। प्रचण्ड गएको १० पुसमा सात दल र तीन स्वतन्त्र गरी १६९ सांसदको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका थिए। तर, उनलाई २६८ सांसदले विश्वासको मत दिएका छन्।

संसद्को सबैभन्दा ठूलो दल नेपाली काँग्रेसले सत्ता गठबन्धन र सरकारमा सहभागी नभए पनि प्रचण्डलाई विश्वासको मत दिएको छ। काँग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन हृवीप नै जारी गरेका थिए।

प्रतिनिधिसभामा २७५ सदस्य छन्। त्यसमध्ये एक सांसद निलम्बित छन् भने राप्रपा सांसद पशुपति शमशेर जबरा बैठकको अध्यक्षता ग्रहण गरेकाले मतदानमा सहभागी भएनन्। मंगलबार भएको मतदानमा २७० सांसद मात्रै सहभागी भएका थिए। प्रचण्डले २६८ मत पाएका छन् भने विपक्षमा २ मत खसेको छ।

नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीबाहेक सबै दल र स्वतन्त्र सांसदहरूले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएका छन्। संविधानको धारा ७६ (४) ले उपधारा २ र ३ बमोजिम नियुक्त भएको प्रधानमन्त्रीले त्यसरी मनोनीत भएको तीस दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ।