चितवन महोत्सवमा ‘मेड इन नेपाल’ एक्स्पो सुरु

January 10, 2023 5:50 pm

चितवन : चितवन महोत्सवमा ‘मेड इन नेपाल’ एक्स्पो सुरु भएको छ । नेपाली युवा उद्यमी मञ्च चितवनले ‘मेड इन नेपाल’ एक्स्पो आजदेखी सुरु गरेको हो । एक्स्पोमा नेपालमा उत्पादित वस्तु मात्रै प्रदर्शनमा राखिएको छ । एक्स्पोमा जम्मा ४० वटा स्टल रहेका छन् ।

नेपाली युवा उद्यमी मञ्च चितवन च्याप्टरका अध्यक्ष सूर्यभक्त अधिकारीका अनुसार एक्स्पोमा युवा उद्यमीहरुका बीचमा ‘ब्यापारीक ज्ञान’को विषयमा कडा प्रतिस्पर्धा हुने छ। उत्कृष्ट कार्य गर्ने उद्यमीलाई एक लाख रुपैयाँ राशिको पुरस्कारले पुरस्कृत गरिने छ अधिकारी भने। ‘नेपाली उत्पादनको प्रबर्द्धन गर्ने उद्धेश्यले हामीले छुट्टै एक्स्पोको आयोजना गरेका हौ ’, उनले भने, ‘नयाँ उद्यम गर्न चाहनेहरुले पनि यहाँबाट विभिन्न आइडिया लिन सक्नुहुनेछ । महोत्सव आयोजक उद्योग वाणिज्य संघ चितवनले पनि महोत्सवमा ‘मेड इन नेपाल’ एक्स्पोलाई आकर्षणको केन्द्र बिन्दुको रुपमा लिएको छ।

महोत्सवमा खेलकुद, जलयात्रा, स्वास्थ्य सेवा, आदिवासी जनजातिको भेषभूषा र कला संस्कृति झल्किने मनोरञ्जनात्मक कार्यक्रम, कृषि उपज लप्रदर्शनी र बाल उद्यान राखिएका छन् । महोत्सव अवलोकनका लागि सर्वसाधारणलाई ६० तथा विद्यार्थीलाई ३० रुपैयाँको टिकटको व्यवस्था गरिएको छ ।

दश दिनसम्म सञ्चालन हुने महोत्सवमा पाँच लाखले अवलोकन गर्ने र २५ करोड बराबरको आर्थिक कारोबार हुने आयोजकले अपेक्षा गरेको छ । विसं २०५३ साल देखि हरेक दुई वर्षमा आयोजना हुँदै आएको महोत्सव आगामी माघ ४ गतेसम्म चल्ने छ ।