भूईंमा बसेर जनताका समस्या सुन्दै कालिका नगरप्रमुख विनोद रेग्मी

January 10, 2023 8:28 am

चितवन,२६ पुष ।
जनप्रतिनिधीहरु निर्वाचन जितेपछि जनताको समस्या नसुन्ने, सुख सुविधामा रमाउने गरेको भन्दैं आलोचना हुँदै आएको सुन्न पाइन्छ । तर, कतिपय जनप्रतिनिधी भने जनताको स्तरमा नै आफूलाई राख्दै जनताको समस्याको समाधानका लागि खटिरहेका उदाहरण पनि सुन्न र देख्न पाइन्छ । चितवनको कालिका नगरपालिकाका नगर प्रमुख विनोद रेग्मी जनताका समस्याको समाधान तत्काल गर्न रुचाउने र जनताको सुखदुःखमा सँगसँगै रहन चाहान्छन् । कालिका नगरपालिका वडा नं.९ को विकट कोलारमा पुगेका नगर प्रमुख रेग्मी जनताजस्तैं भूईंमा बसेर जनताको समस्या सुन्दै गरेको तस्वीर पछिल्लो समयमा निकै चर्चामा छ । नगर प्रमुख रेग्मी कोलारका स्थानीयवासिन्दाको समस्या सुन्न र तिनको समाधानका लागि के उपाय गर्न सकिन्छ भनेर सो ठाउँ पुगेका थिए । बैशाखमा भएको निर्वाचनका बेलामा मत माग्न पुगेका नगर प्रमुख रेग्मी जितेपछि कोलार पुगेर आइपरेका समस्या समाधानको उपायको खोजी गरे । तस्वीरमा नगरप्रमुख रेग्मी जनतासँगै भूईंमा पलेटी कसेर जनताका पिरमर्का सुनेका छन् । ‘उहाँहरुले नगरप्रमुख आउनुभयो भनेर कुर्सी टकार्नुभयो, तर मैंले तपाईंहरुसँगै बस्छु भने, उहाँहरु जसरी भूईंमा बस्नुभयो, म पनि त्यसरी नै बसे’ नगर प्रमुख रेग्मीले भने, ‘जनतालाई तल वा होचोमा राखेर मलाईं अग्लो हुनु छैन । जनता जहाँ जस्तो अवस्थामा बस्छन् म पनि त्यहीँ रमाउन चाहान्छु ।’ नगरप्रमुख दाहालले एक घण्टासम्म जनताका समस्याहरु सुने । उनले सो क्षेत्रमा आयआर्जनका लागि सिपमूलक र व्यवासीयक तालिमको आवश्यकता रहेको भन्दैं जनतालाई समूह बनाएर नगरपालिकामा आउन आग्रह गरे । नगर प्रमुख रेग्मीले समूह बनाएर आए तत्कालै आफूले नगरपालिकाकोतर्फबाट रकम विनियोजन गरेर सहयोग गर्ने आश्वासन जनतलाई दिएको बताए । कोलारमा ३३ घर रहेका छन् । बाख्रापालन, स्थानीय जातका कुखुरापालन वा अन्य सिपमूलक तालिमका लागि नगरपालिकाले सहयोग गर्ने नगरप्रमुख रेग्मीले बताए । उनले सो क्षेत्रमा रहेका चेपाङ्ग बालबालिकाले सानो उमेरमा विवाह गर्ने समस्या रहदै आएको भन्दै नगरपालिकातर्फबाट चेतनामूलक कार्यक्रम लैजाने सोच पनि बनाएको बताए । स्वास्थ्य सेवा, खानेपानी, विद्यालय लगायतका क्षेत्रमा पनि नगरपालिकाले काम गर्ने नगरप्रमुख रेग्मीले बताए ।