विश्वासको मत दिन समयमै उपस्थित हुनुहोस् : अध्यक्ष ओली

January 7, 2023 6:38 pm

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई विश्वासको मत दिन तोकिएको समयमै संसदमा उपस्थित हुन निर्देशन दिएका छन्। काठमाडौंमा शनिबारबाट सुरु भएको पार्टीका सांसदहरूको प्रशिक्षण कार्यक्रममा उनले पुस २६ गते सरकारलाई विश्वासको मत दिन समयमै संसदमा उपस्थित हुन पार्टीका सांसदहरूलाई निर्देशन दिएका हुन्।

नेपालीहरूको बलजफ्तीमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार बनाएको र त्यसलाई विश्वासको मत दिएर सफल बनाउनका लागि पार्टीका सांसदहरूले २६ गते एक मिनेट पनि ढिलाइ नगरी संसदमा उपस्थित हुनुपर्नेतर्फ पनि पार्टीका सांसदहरूलाई उनले सचेत गराए। ओलीले नेपालीहरूको बलजफ्तीबाट वर्तमान सरकार बनेको उल्लेख गर्दै त्यसलाई सफल र प्रभावकारी बनाउन आफूले चाहेको बताए।

उनले संसदीय गतिविधिमा सहभागी हुने कुरालाई पहिलो प्राथमिकतामा राख्न पार्टीका सांसदहरूलाई निर्देशन दिए। उनले सांसद भएको हुनाले संसदीय गतिविधिको काममा ध्यान दिएर अघि बढ्न पार्टीका सांसदहरू केन्द्रित हुनुपर्ने बताए। पार्टी संसदीय दलको बैठकमा र अन्य गतिविधिहरूमा पनि समयमै पुग्ने काम गर्नुपर्ने उनको भनाइ छ।

ओलीले भने, ‘हामीले कुनै पनि कार्यक्रममा समयमा आउने र समयभरि बस्ने र खासगरी हामी सांसदहरूलाई संसदीय अभ्यासमा संसदको बैठकमा भाग लिन नभ्याउने, संसदको काममा भाग लिन नभ्याउने, प्रशिक्षणको कार्यक्रममा भाग लिन नभ्याउने, अरू बाहिरबाहिर भ्याउने भन्ने कुरा हुँदैन। कहिले कहिले नभ्याउने परिस्थिति पनि पर्न सक्छ। तर आम रुपमा भन्ने हो भने हामी जनप्रतिनिधि हौं, हामी सांसद हौं। र, हामीले सांसदको हैसियतले गर्नुपर्ने कामलाई प्राथमिकता दिनु पर्दछ। संसदीय दलको बैठक जति बजे बोलायो, त्यति बजे उपस्थित हुनु पर्दछ। संसदीय अन्य गतिविधिहरूमा जति बजे बोलाइएको छ, त्यति बजे उपस्थित हुनु पर्छ। समय सीमाको पालना गर्नु पर्दछ। त्यसमा सबै साथीहरूले ध्यान दिनु पर्दछ।’