आजबाट श्रीस्वस्थानी व्रत सुरु

January 6, 2023 5:41 pm

काठमाडौँ, पुस २२ । आज पौष शुक्ल पूर्णिमा । नेपाली सनातन धर्मावलम्बी एक महिने श्रीस्वस्थानी व्रत सुरु गर्दैछन् । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म स्वस्थानी परमेश्वरीको व्रत लिने परम्परा छ । विधिपूर्वक व्रत बस्नेले दिनहुँ स्नान गरी मध्याह्नमा महादेव र स्वस्थानी परमेश्वरीको पूजा आराधना गर्छन् र उनको माहत्म्य सुन्छन् ।

व्रतको अन्तिम दिन माघशुक्ल पूर्णिमामा विशेष पूजा आराधना गरी अक्षता, फलफूल नैवेद्य, जनै, पान र सुपारीलगायत १०८ को संख्यामा चढाउने परम्परा छ । यसरी विधिपूर्वक व्रत गर्नाले मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ ।

यो अवधिमा पाशुपत क्षेत्रस्थित गुह्येश्वरी, गौरीघाट र किरातेश्वर महादेवका मन्दिर व्रतालुको गन्तव्य बन्छ । यस्तै, गोकर्ण र साँखुस्थित शालीनदीलगायत स्थानमा पनि व्रतालुको घुइँचो लाग्छ । यी तीर्थस्थलको महिमा स्वस्थानी व्रतकथामा पनि बताइएको छ । विधिपूर्वक व्रत नबस्नेले पनि बिहान वा साँझमा स्वस्थानी व्रतकथा वाचन तथा श्रवण गर्छन् ।

स्वस्थानीको महिमा भएको ३१ अध्यायको स्वस्थानी कथा नेपाली भाषामा सर्वसुलभ छ । पहिले पुराणबाट नेवारी भाषामा रचिएको श्रीस्वस्थानी कथा पछि नेपाली भाषामा अनुवाद गरिएको बताइन्छ । सत्ययुगमा पार्वतीले भगवान् विष्णुको उपदेशमा स्वस्थानी व्रत बसेर महादेव पति पाएको उल्लेख छ । गोमा र चन्द्रावतीलगायत पात्रले स्वस्थानीको व्रत गरी इच्छाअनुसारको वरदान पाएको व्रतकथामा उल्लेख छ ।