रत्ननगर, पुष २० । भारतीय सेनाबाट सेवानिवृत्त भई स्वदेश फर्किने क्रममा रेलमा ४० जनाको डाँका समूहसँग प्रतिकारगरी एउटी युवतीलाई बलात्कार हुनबाट जोगाउने भारतीय सेनाका भूपू सैनिक पोखरा ६ लेखनाथका विष्णुप्रसाद श्रेष्ठलाई रत्ननगर नगरपालिकाले बुधबार सम्मान गरेको छ ।
रत्ननगर नगरपालिकाका मेयर प्रल्हाद सापकोटा र प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले श्रेष्ठलाई सम्मान गर्दै वीर गोर्खालीको इतिहास रच्न सफल भएकोमा बधाई तथा सुखद् भविष्यको कामना गरे । सोही अवसरमा विष्णुप्रसाद श्रेष्ठका श्रीमती सीता श्रेष्ठलाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रममा भूपू सैनिक कल्याणकारी क्लब रत्ननगरले पनि भूपू सुवेदार श्रेष्ठलाई सम्मान गरेको थियो । क्लबका अमृत मल्लले संकटको समयमा श्रेष्ठले देखाएको बहादुरी इतिहासको पानामा रहिरहने बताए ।
सम्मानित व्यक्तित्व श्रेष्ठले आफ्नो अनुभव यसरी सुनाए, ‘जब म भारतीय सैनिकबाट अवकास लिएर सन् २०१० सेप्टेम्बर २ मा घर फर्किँदै थिएँ । रातिको १२ बजे रेलमा लुटपाट मच्चियो । एउटी एमबिबिएस पढिरहेकी युवतीले ‘भैया मुझे बचाओ’ भनेर अनुनय विनय गरिन् । मानवीय भावनाले मेरो हृदय भरिएर आयो । मेरो आँखाले एउटी अबला नारी लुटिएको टुलुटुलु हेर्न सकेन । मेरो शरीरमा रगत उम्लियो अनि कम्मरको खुकुरी निकालेर तीन जनालाई छप्काएँ । छ जना गम्भीर घाइते भएर ढले । आधाघन्टाको भिडन्तपछि रेल जंगलमा रोकिएको थियो । डाँकुहरुलाई भगाउन सफल भएपछि तिनै युवतीले मिडियाहरुमा अन्तर्वार्ता दिइन् । अनि घर फर्किन लागेको मेरो आठ वर्ष सेवा अवधि थप भयो । सेनाबाट मेडल र राष्ट्रपतिबाट उत्तम जीवन रक्षक सम्मान पाएँ ।’