चितवनका पत्रकारहरुको कालिका नगरपालिकाद्वारा १० लाखको दुर्घटना बिमा

January 2, 2023 4:48 pm

चितवन, पुस १८ । कालिका नगरपालिकाले नेपाल पत्रकार महासंघ चितवन शाखाका सदस्यको रु १० लाखको दुर्घटना बिमा गर्ने भएको छ । नगरपालिका र महासंघ बीच दुर्घटना बीमा सम्बन्धी आज एक कार्यक्रमका बीच सम्झौता भएको हो ।

नगरपालिकाका प्रमुख बिनोद रेग्मी र महासंघका अध्यक्ष नारायणप्रसाद अधिकारीले सम्झौता पत्रमा हस्ताक्षर गरेकाछन् । नगरपालिकाले पत्रकार सामुहिक दुर्घटना बीमा कार्यबिधि २०७९ निर्माण गरी कार्यपालिका बैठकबाट अनुमोदन गरेपछि महासंघसँग सम्झौता गरेको हो । आगामी दिनहरुमा बीमा कार्यक्रमलाई निरन्तरता दिने गरी कार्यबिधि बनाएर व्यवस्थित गरिएको नगरप्रमुख रेग्मीले जानकारी दिए ।

कार्यबिधिमा बीमाका लागि नगरप्रमुख संयोजक भएको समिति रहेको छ । महासंघका अध्यक्ष समेत समितिमा रहने गरी कार्यबिधि बनाईएको छ । आज सम्झौता भएसँगै प्रक्रिया अघि बढ्ने र केही दिन भित्रै महासंघका सदस्यहरुको बीमा हुने रेग्मीले बताए । उनले भने “यसबाट पत्रकार र परिवार लाभान्वित हुने छन् ।” कसैको पनि दुर्घटना नहोस् र लाभान्बित हुन नपरोस् भन्ने आफ्नो चाहना रहेको भन्दै उहाँले भैपरि आउने दुर्घटना पछि राहतका लागि बीमा कार्यक्रम गर्न लागिएको बताए ।

कालिका नगरपालिकाले यस अघि गत आर्थिक वर्षमा पत्रकारको रु ७ लाखको दुर्घटना बीमा गराएको थियो । त्यस अघिल्लो वर्ष रु ३ लाखको दुर्घटना बीमा गरिएको थियो । अबका वर्षहरुमा कार्यबिधिनै बनाएर रु १० लाखको दुर्घटना बीमा गर्न लागिएको हो । यो बीमा अन्तर्गत दुर्घटनाबाट मृत्यु भएकाको परिवारलाई रु १० लाख र घाईते हुनेको उपचार खर्च पाउने गरी कम्पनी छनोट गरेर बीमा गरिने छ ।

नगरपालिकाका उपप्रमुख बिमला तामाङ्ले नगरपालिका र महासंघका बीचमा संस्थागत रुपमा यो कार्यक्रमसँगै सहकार्य भएको बताउनुभयो । महासंघका अध्यक्ष अधिकारीले हाल महासंघमा २७६ पत्रकार रहेकोमा अन्यत्र दुर्घटना बीमा भएकालाई घटाएर बाँकी सबैको बीमा गरिने बताए । संस्थागत रुपमा नगरपालिकासँग सम्झौता गर्न पाएकोमा खुशी प्रकट गर्दै उहाँले यसबाट पत्रकार र परिवार लाभान्वित हुने बताए ।

कार्यक्रममा पत्रकार महासंघ चितवनका पूर्व अध्यक्ष एवं सल्लाहकार राधेश्याम खतिवडा, पत्रकार महासंघका पदाधिकारी तथा सदस्यहरु, नगरपालिकाका वडा अध्यक्षहरु र कर्मचारीहरुको उपस्थिति थियो ।