हरेक क्षेत्रमा एक्स्पर्ट टिम तयार गरि विकास गरिने : सांसद ढकाल

December 31, 2022 5:51 pm

रामु आचार्य ।
१६ पौष, रत्ननगर ।
कृषि तथा खेलकुद विकासका लागी नीति बनाएर अघि बढ्ने तथा हरेक क्षेत्र संग सम्वन्धित एक्स्पर्ट टिम तयार गरी नागरिकको समस्या सुनुवाई गरिने नवनिर्वाचित प्रतिनिधि सभा सदस्य हरि ढकालले बताएका छन् । रत्ननगर ९ मा रहेको बालुवाटार कृषक समूहद्वारा आयोजना गरिएको टोल विकास संस्थाका प्रतिनिधि, रत्नप्रिय क्लवका सदस्य तथा विभिन्न संस्थाका प्रतिनिधि संगको अन्तरक्रिया कार्यक्रममा ढकालले यस्तो बताएका हुन् । पूर्वी चितवनको पर्सा बजारमा सम्पर्क कार्यालय उद्घाटन भैसकेको भन्दै ढकालले सबैजनाले आ-आफ्नो समस्या प्रतक्ष्य रुपमा राख्न समेत आग्रह गरेका थिए ।

कार्यक्रममा रत्ननगर ९ का वडाध्यक्ष अनन्त अधिकारीले वडामा रहेका खगेरी खोला, पुल, सडक, जंगल तथा तटवन्धन लगाएमा भएका समस्याहरु समेटिएको ज्ञापन पत्र माननीय ढकाललाई हस्तान्तरण गरेका थिए । रत्ननगर ताजा फलफुल तथा तरकारी सहकारी संस्थाका अध्यक्ष विष्णुहरी देवकोटाले कृषकलाई आवस्यक सिप, सामाग्री र बजार लगाएतका कुरामा किसानलाई समस्या परेको भन्दै समस्या समाधानको माग गरेका थिए ।

सोहि कार्यक्रममा रत्नप्रिय क्लवका अध्यक्ष बसन्त रानाले टिकौली चौरलाई खेल मैदानको रुपमा विकास गर्नुपर्ने साथै विद्यालय स्तरबाट खेलाडी उत्पादन र खेल प्रति जागरुक बनाउन सम्वन्धित निकायले तयारि गर्नुपर्ने बताए ।

उक्त कार्यक्रममै एनिमल राईट्स चितवनकि सुमिधा गौतमले वन्यजन्तुलाई संरक्षण साथै वन्यजन्तु र मानव द्वन्द कम गर्न नीतिगत रुपमा सरकार अगाडी बढ्नु पर्ने बताएकी थिइन् । कार्यक्रम बालुवाटार कृषक समूहका अध्यक्ष भीमनिधि तिवारीको अध्यक्षतामा भएको थियो ।