रत्ननगरमा स्वास्थ्य शिविर : २२१ जनाको स्वास्थ्य परीक्षण

December 27, 2022 6:05 pm

चितवन १२ पुस । रत्ननगर नगरपालिका वडा नं १३ जयमंगलामा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा २२१ जनाले स्वास्थ्य परीक्षण गराएका छन् । अंकुरम पोलिक्लिनीक प्रालि र मौलाकालिका अस्पताल प्रालिको सहयोगमा शक्तिशाली आमा समुहले आयोजना गरेको शिविरमा अघिकाँस सुकुमबासी समुदायले स्वास्थ्य परीक्षण गराएको आमा समुहकी अध्यक्ष विरञ्जना सापकोटाले जानकारी दिइन । स्त्रीरोग, नाक,कान घाँटी, फिजिसियन, स्वासप्रश्वास, मधुमेह, उच्चरक्तचाप भएका विरामीहरुको स्वास्थ्य परीक्षण गरि निःशुल्क औषधि वितरण गरिएको अंकुरम पोलिक्लिनीककी सञ्चालिका अन्जना जोशीले जानकारी दिइन । शिविरमा डा.रमेश पौडेल, डा.रमेश घिमिरे,डा.प्रशान्त आचार्य र डा. निरज पौडेलले स्वास्थ्य परीक्षण गरेका थिए । शिविरको उद्घाटन गर्दै रत्ननगरका उपमेयर यादब प्रसाद पाठकले रत्ननगरमा आर्थिक अभावका कारण उपचार नपाएर कोही पनि मर्न नपर्ने बताए । उनले रत्ननगरका तीन हजार २०० परिवारको निःशुल्क स्वास्थ्य बिमा र रत्ननगर अस्पतालमा विपन्न उपचार कोष स्थापना गरिएको बताए । शक्तिशाली आमा समुहकी अध्यक्ष विरञ्जना सापकोटाले अधिकाँस सुकुमबासी महिलाहरु पाठेघरको समस्या रहेको बताइन् । समयमै उपचार नपाएर सुकुमबासी महिलाहरुमा पाठेघरको समस्या धेरै नै थियो उनले भनिन् यस अघि महिलाहरुलाई मात्र लक्षित गरी शिविर गरेका थियौं,यस पटक महिला पुरुष दुबैको उपचार गर्ने गरी शिविर आयोजना गरेका हौं । आर्थिक अभावका कारण रोग लुकाएर बस्न बाध्य समुदायको जीवन रक्षाको लागि शिविर आयोजना गरिएको उनको भनाई छ । उद्घाटन कार्यक्रममा वडाध्यक्ष पोटबहादुर घिमिरे,वडा सदस्य शारदा न्यौपाने,मौलाकालिका अस्पतालका डाक्टर रमेश घिमिरे लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम आमा ुसमुहकी अध्यक्ष सापकोटाको अध्यक्षतामा भएको थियो ।