काठमाडौं। नवनियुक्त गृहमन्त्री रवि लामिछानेले पदभार ग्रहण गरेका छन्। सोमबार साँझ सिंहदरबारस्थित गृह मन्त्रालय पुगेर गृहमन्त्री लामिछानेले पदभार गरेका हुन्। उनले आजै राष्ट्रपति भवनमा उप-प्रधानमन्त्रीसहित गृहमन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए।
गृह मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले आफूहरूले मन्त्रिपरिषद्मा पनि प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताए। ‘क्याबिनेटभित्र पनि प्रतिपक्षको आवश्यकता पर्छ। त्यहाँ भएका साथीहरूबाट पनि कहीँ कतै आम जनताको पिर मर्का नबुझ्ने अथवा कुनै गलत चिज हुन्छ कि भन्नका लागि त्यहाँ पनि प्रतिपक्षको भूमिका रहन्छ । हाम्रो भूमिका त्यहाँभित्र पनि प्रतिपक्षको हुन्छ,’ उनले भने।
उनले जनताका लागि गृह मन्त्रालयमा बसेर बढी काम गर्न सकिने भएकाले आफूले यसलाई रोजेको दाबी गरे। लामिछानेले आफ्नो नागरिकता र पासपोर्ट छानबिनका क्रममा हस्तक्षेप नगर्ने बताए। उनले भने, ‘म, ऊ, मेरो, आफ्नो भनेर पक्षपात हुँदैन। सबैलाई बराबर न्याय हुन्छ। निष्पक्ष छानबिन गर्न मेरो सहयोग रहन्छ। कुनै पनि किसिमको कम्परमाइज हुँदैन।’
लामिछानेले खारेज भइसकेको नागरिकताका आधारमा उम्मेदवारी दिएर जितेको र एकै पटक नेपाल तथा अमेरिकाको नागरिकता लिएको विषयमा गृह मातहतकै निकायले छानिबन गरिरहेका छन्।