साना किसान कृषि सहकारीको २५ औं वार्षिक साधारण सभा, किसानमैत्री बन्दै प्रविधि प्रयोगमा जोड दिईने

December 19, 2022 6:14 pm

४ पौष, रत्ननगर ।
साना किसान कृषि सहकारी संस्था लि. को २५ औँ वार्षिक साधारण सभा सोमबार रत्ननगरमा गरिएको छ । रत्ननगर नगरपालिकाका कार्यवाहक प्रमुख सोहेन्द्रराज खरेल प्रमुख अतिथि रहेको सो कार्यक्रममा संस्थाका अध्यक्ष नारायण महतोले आफुहरुको संस्था किसानमैत्री बन्दै प्रविधि प्रयोगमा अघि बढ्ने बताएका छन् । स्थापना देखि नै किसानको हरेक समस्यामा सहकार्य गर्दै अघि बढेकोमा आगामी दिनमा किसानप्रति थप जिम्वेवारी वहन गर्ने उनको भनाई थियो ।

कार्यक्रममा अध्यक्ष महतोले आर्थिक बर्ष २०७९/०८० को बार्षिक प्रगती प्रतिबेदन, लेखा सुपरिवेक्षण समिति संयोजक विष्णु प्रसाद आचार्यले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यस्तै स्थानिय किसान दुर्गानाथ अर्यालले कृषि नर्सरी सम्बन्धि अनुभव साट्दै यो प्रविधिले किसानलाइ ६५ प्रतिशत सम्म रुपैया बचत हुने बताए ।

कार्यक्रममा शत प्रतिशत असुलिदर भएको समुहलाई ५ हजार रुपैयाले सम्मान गरिएको थियो त्यस्तै सफल उद्धमी सम्मान अन्तर्गत बालकुमारी महतो, लक्ष्मी खतिवडा, बुद्धिरजिया महतो, गीता चौधरी, सुन्दरिदेवी सुवेदी, संगीता चौधरी, उमादेवी रिजाल, भजराम महतो, कृष्ण आचार्य र बुटिया महतोलाई सम्मान गरिएको थियो । सोहि कार्यक्रममा अन्तरसमूह अध्यक्षहरु मेघराज पाठक र सरस्वती चौधरीलाई समेत सम्मान गरिएको छ ।

कार्यक्रममा नारि चेतनाकी प्रतिनिधि देवकी अधिकारी, वडाध्यक्षहरुको तर्फ बाट रत्ननगर ६ का अध्यक्ष किरण महतो, साना किसान बिकास बैंक हेटौडा प्रमुख कृष्ण कुमारी शर्मा, रत्ननगर नगरपालिकाका कार्यवाहक प्रमुख सोहेन्द्रराज खरेल लगाएतले मन्तव्य राखेका थिए । संस्थाकी उपाध्यक्ष जारी तमाङले स्वागत मन्तव्य राखेको कार्यक्रमलाई संस्थाका प्रवन्धक रामहरी दाहालले संचालन गरेका थिए ।

हाल साना किसान कृषि सहकारीको सेवा रत्ननगर नगरपालिकाको ३,४,५,६,७,८ र ९ नम्वर वडाहरुमा रहेको र यसै बर्ष बाट रत्ननगर १० मा समेत सेवा सुचारु हुने कार्यक्रममा जानकारी दिइएको थियो । यो सहकारीमा हाल ४ सय ४३ महिला समूह र १ सय ३ वटा समूह गरी ५ सय ४६ समूह रहेका छन् ।