असोज मसान्तसम्म चितवनबाट ३ हजार ६ सय ५५ जनाले लिए श्रम स्वीकृती

December 18, 2022 5:58 pm

आशिष अधिकारी
३ पौष, भरतपुर ।
चालू आर्थिक बर्षको साउन देखि असोज मसान्तसम्म चितवनबाट ३ हजार ६ सय पच्पन्न जनाले वैदेशिक रोजगारीको लागि श्रम स्वीकृत लिएका छन । जस मध्ये श्रम स्वीकृत लिएर वैदेशिक रोजगारीमा जाने महिलाको सख्या ६ सय रहेको छ । जिल्लामा प्रतिदिन सरदर ४० जनाले श्रम स्वीकृत लिएर वैदेशिक रोजगारीमा जाने गरेको एक तथ्यांकले देखाएको छ ।

सुरक्षित आप्रवासन (सामी) कार्यक्रमले अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस २०२२ को अवसरमा वैदेशिक रोजगारीले निम्त्याएको सामाजिक असर तथा न्यूनीकरण सम्बन्धि एक अन्तरक्रिया कार्यक्रम गरेको छ । आइतबार भरतपुर महानगरपालिकाको सभाहलमा भएको कार्यक्रममा हेल्भेटास नेपालका कार्यक्रम अधिकृत उमा पौडेलले वैदेशिक रोजगारीले निम्त्याएको सामाजिक असर तथा सामाजिक लान्छनाका सम्बन्धमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियोे ।

पौडेलका अनुसार नेपालमा वैदेशिक रोजगारीमा गएर ज्यान गुमाएर आउनेको सख्या प्रतिदिन ३ जना रहेको छ । त्यस्तै एक हजार भन्दा बढी नेपाली युवाहरु दैनिक रुपमा वैदेशिक रोजगारीमा जाने गरेका छन । जस मध्ये ७४ प्रतिशत युवाहरु हचुवाको भरमा वैदेशिक रोजगारीमा जाने गरेको पनि पौडेलले जानकारी दिनु भयो ।

आर्थिक बर्ष २०६४ देखि २०७८/७९ सम्म वैदेशिक रोजगारीमा गएर मृत्यु हुनेको सख्या १० हजार ९ सय ३२ रहेको छ भने आर्थिक बर्ष २०७८/७९ मा चितवन जिल्लाबाट वैदेशिक रोजगारीमा गएर मृत्यु हुनेको सख्या ३५ रहेको सामी कार्यक्रम चितवनका कार्यक्रम सयोजक सुर्य पौडेलले जानकारी दिनु भयो ।

नेपालमा ५६ प्रतिशत भन्दा बढी घरधुरीमा बिप्रेषण अर्थात रेमिटान्स पुगेको देखिन्छ । आर्थिक बर्ष २०७७/७८ मा नेपालमा १० खर्ब रुपैयाँ रेमिटान्स भित्रिएको छ ।

यसैगरी बिश्व भरि साढे २८ करोड ब्यक्तिहरु वैदेशिक रोजगारीमा आबद्ध रहेका छन । बिज्ञहरुका अनुसार अर्थतन्त्रको ५७ प्रतिशत हिस्सा वैदेशिक रोजगारबाट आएको रेमिटान्सले ओगटेको छ ।

वैदेशिक रोजगारीमा रहेका पुरुषका श्रीमतीहरु मध्ये ६० प्रतिशतमा कुनै न कुनै प्रकारको मानसिक समस्या रहेको मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र नेपालले सन २०२२ को मे महिनामा सार्वजनिक गरेको सर्बेक्षणमा उल्लेख छ । त्यस्तै वैदेशिक रोजगारीका कारण मानसिक समस्यामा परेका ३० हजार मध्ये ६० प्रतिशतमा मानसिक समस्या रहेको देखाएको छ । त्यसै गरि ५२ प्रतिशत श्रमिकको परिवार सगको भेट २ देखि ३ बर्षको अन्तरालमा र ८ प्रतिशतको भेट १० बर्षको अन्तरालमा हुने देखिन्छ ।

कार्यक्रममा बोल्दै भरतपुर महानहर उप प्रमुख चित्रसेन अधिकारीले नेपालमा रोजगारीको पर्याप्त अवसर सिर्जना हुन नसक्दा प्रत्येक वर्ष लाखौं युवा कामका लागि विदेशिनु बाध्यता भएको बताउनु भयो । केहीका लागि वैदेशिक रोजगार रहरको विषय भए तापनि अधिकांश नेपालीका लागि यो बाध्यता बन्न पुगेको छ उप प्रमुखको भनाइ छ

सामी कार्यक्रम हाल चितवनको ४ वटा पालिकाहरुमा संचालित छ । भरतपुर महानगरपालिकाको वडा १८,१९ २१ र २४ तथा माडी नगरपालिका,रत्ननगर नगरपालिका र इच्छाकामना गाउपालिकामा कार्यक्रम संचालित रहेको छ । नेपालका ३८ जिल्लाका १ सय ५६ स्थानीय तहमा यो कार्यक्रम सन्चालनमा रहेको छ । उक्त कार्यक्रमको अवधि २०८१ असार मसान्तसम्म रहेको छ ।

सुरक्षित आप्रवासन सामी कार्यक्रम नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौतामा संचालित छ भने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्थानीय सरकारहरुको नेतृत्वमा कार्यान्वयनमा आएको सामी कार्यक्रम चितवनका सम्पर्क ब्यक्ति सुकदेब ढकालको भनाइ छ ।

डिसेम्बर १८ लाई बिश्वले अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसको रुपमा मनाउदै आइरहेको छ ।

वैदेशिक रोजगार ऐन, २०६४ ले कामदारले विदेशमा पाउने रोजगारीलाई वैदेशिक रोजगार भनी परिभाषित गरेको छ।