रत्नश्रीको २२ औं वार्षिक साधारण सभा तथा विशेष अधिवेसन सम्पन्न

December 17, 2022 7:55 pm

२ पौष, रत्ननगर ।
रत्नश्री बचत तथा ऋण सहकारी संस्था लि. को २२औँ वार्षिक साधारण सभा तथा विशेष अधिवेशन शनिबार रत्ननगरमा गरिएको छ । रत्ननगर नगरपालिकाका प्रमुख प्रलाद सापकोटा प्रमुख अतिथि रहेको सो कार्यक्रममा संस्थाका अध्यक्ष मिस्टरबाबु घिमिरेले आर्थिक बर्ष २०७९/०८० को बार्षिक प्रतिबेदन, भावी कार्ययोजना, नीति तथा कार्यक्रम, कोषाध्यक्ष शिवहरी भण्डारीले अनुमानित आयव्यय विवरण, ऋण समितिका सदस्य राम प्रसाद पौडेलले ऋण समितिको वार्षिक प्रतिवेदन तथा लेखा समिति सदस्य नगेन्द्रराज पाण्डेले आन्तरिक लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा असल ऋणी, शेयर सदस्यका अभिभावक, उत्कृष्ट बाल बचतकर्ता र एसईईमा उत्कृष्ट अंक ल्याउने बिद्यार्थिहरुलाई सम्मान तथा पुरस्कृत गरिएको संस्थाका ब्यबस्थापक नारायण अधिकारीले जानकारी दिए ।

कार्यक्रममा बोल्दै रत्ननगर नगरपालिकाका उपमेयर यादव पाठकले सहकारीको संख्या बढिरहेपनि सहकारी विपन्न बस्तिहरुमा जान नसकेको भन्दै अबको दिनमा वास्तविक विपन्न वर्ग संग सहकारीले हातेमालो गर्नुपर्ने बताए ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका रत्ननगर नगरपालिका प्रमुख प्रलाद सापकोटाले सहकारीहरूले नगरपालिका संग समन्वय गरेर अघि बढ्नुपर्नेमा जोड दिएका थिए । सहकारीले नाफा कमाउने उद्धेश्य मात्र लिन नहुने भन्दै सामाजिक रुपान्तरणमा भूमिका खेल्न उनले आग्रह गरे ।

कार्यक्रममा जिल्ला सहकारी संघका उपाध्यक्ष प्रेम दवाडी, शेयर सदस्य तर्फबाट नारायण चालिसे, निर्वाचन अधिकृत सुरेन्द्र चौधरी लगायतले मन्तव्य राखेका थिए । १० करोड बढी करोबार रहेको सकहारीले कालिका र खैरहनी नगरपालिकामा समेत सेवा केन्द्र सञ्चालन गर्ने तयारी गरेको छ । साथै बिशेष अधिवेशसनले रिक्त रहेको कार्य समिति सदस्य पदमा किसान प्रसाद लाई मनोनयन गरेको छ । संस्था रत्ननगर नगरपालिकाको वडा नम्वर १० मा रहेको छ ।