चितवन, पुष २ |
चितवनको भरतपुरमा रहेको राष्ट्रिय आधारभूत विद्यालयका विद्यार्थीलाई जाडोबाट बच्नको लागि न्यानो कपडा वितरण गरिएको छ । भरतपुर १६ शरणपुर स्थित विद्यालयमा अध्ययनरत दुई सय जना विद्यार्थीलाई शुक्रबार रोट्रायक्ट क्लब अफ भरतपुर हाईटले न्यानो कपडा वितरण गरेको हो । क्लबले विद्यार्थीहरुलाई ट्रयाक-सुट,हाई-नेक, टोपी लगायतको न्यानो कपडा वितरण गरेको क्लबकी अध्यक्ष अपेक्षा श्रेष्ठले जानकारी दिइन ।
विद्यालय र विद्यार्थीको अवस्था बुझेर सहयोग सामाग्री वितरण गरेको श्रेष्ठले बताइन । क्लबले दुई लाख रुपैयाँ बराबरको सहयोग सामाग्री वितरण गरेको क्लबका आगामी वर्षको लागि नवनिर्वाचित अध्यक्ष सुरज भण्डारीले जानकारी दिए । न्यानो कपडा वितरणको लागी क्लब सदस्यहरूसँग र अन्य कार्यक्रमबाट संकलन गरेको रकमबाट आर्थिक व्यवस्थापन गरेको क्लबका पब्लिक इमेज चियर ध्रुव शर्माले जानकारी दिए।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि रोटरी क्लव अफ भरतपुरका अध्यक्ष भोला जोशीले क्लले गरेको कार्य प्रशंशनीय रहेको बताए । उनले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरे । कार्यक्रममा प्रमुख अतिथि जोशीले सरसफाईको विषयमा विद्यार्थी र अभिभावक सँग अन्तरक्रिया पनि गरेका थिए । उनले सरसफाईको आवश्यकता र महत्वका बारेका जानकारी गराएका थिए ।