प्रथम मेयर कप : रत्ननगर फाइनलमा प्रवेश

December 14, 2022 6:27 pm

रत्ननगर २८ मंसिर ।

चितवनको रत्ननगरमा जारी पालिका स्तरीय मेयर कप खुल्ला नकआउट फुटवल प्रतियोगितामा आयोजक रत्ननगर नगरपालिका फाइनलमा प्रवेश गरेको छ । बुधवार भएको सेमिफाइलन खेलमा कालिका नगरपालिकालाई पराजित गर्दै रत्ननगर फाइनलमा प्रवेश गरेको हो । रत्ननगरले कालिकालाई ४ का विरुद्ध ५ गोल अन्तरले पछि पार्दै जित हासिल गरेको हो ।

निर्धारित समयमा दुई टिमबाट एक एक गोलको बराबरी भएपछि पेनाल्टीमा नतिजा निकालिएको थियो । पेनाल्टीका रत्ननगरले ४ र कालिकाले ३ गोल गरेका थिए । निर्धारित समयमा रत्ननगरका लागि सिमन लामा गोले र कालिकाका लागि प्रयास तामाङले एक एक गोल गरेका थिए । सो खेलमा उत्कृष्ट प्रर्दशन गरेका रत्ननगरका सिमन लामा गोले म्यान अफ दी म्याच घोसित भएका छन् । उनलाई रत्ननगर नगरपालिकाका उपमेयर यादव प्रसाद पाठक र विज्ञ सल्लहाकार रामहरि न्यौपानेले २ हजार ५०० नगद पुरस्कार हस्तान्तरण गरेका थिए ।

विहीवार भरतपुर महानगर र माडी नगरपालिका बीच दोस्रो सेमिफाइनल खेल हुने रत्ननगर खेलकुद विकास समितिका सदस्य सौगात भूजेलले जानकारी दिए । सात वटा टिमको सहभागिता रहेको सो प्रतियोगितामा प्रथम हुने टिमलाई एक लाख १ हजार १११ र दोस्रो हुने टिमलाई ५५ हजार ५५५ रुपैया पुरस्कार प्रदान गरिने छ ।