काभ्रे बस दुर्घटना : मृतक १३ को पहिचान खुल्यो

December 14, 2022 11:12 am

काभ्रे। काभ्रेको बेथानचोक गाउँपालिका–४ चलाल गणेस्थानमा मङ्गलबार साँझ भएको बस दुर्घटनामा ज्यान गुमाएका १७ मध्ये १३ जनाको सनाखत भएको छ।

 

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीका अनुसार मृत्यु हुनेमा बनेपा नगरपालिका–११ की ७९ वर्षीया निर्मला तामाङ, ११ वर्षीय योगेश तामाङ, ५० वर्षीय अंकुर तामाङ, ४३ वर्षीया हेमा तामाङ, १० वर्षीय पुष्कर तामाङ, २५ वर्षीया कोपिला तामाङ र ६ वर्षीया श्रेया तामाङ रहेका छन्।

 

त्यस्तै बनेपा नपा–१४ का ३९ वर्षीय राजकुमार तामाङ, २८ वर्षीया गीता श्रेष्ठ, मण्डनदेउपुर नपा–१ का ३७ वर्षीया जेली तामाङ, धुलिखेल नपा–११ का ३० वर्षीय बुद्ध तामाङ र बेथानचोक गाउँपालिका–५ की ३२ वर्षीया मञ्जु तामाङको पनि सो बस दुर्घटनामा मृत्यु भएको छ।

 

यस्तै बस चालक ललितपुरको महाँकाल–४ घर भई हाल पनौती नपा–४ बस्ने २२ वर्षीय सन्तोष तिमल्सिनाको पनि दुर्घटनामा मृत्यु भएको जोशीले जानकारी दिए। घाइते केहीको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ। मृतकमध्ये चार जनाको नाम खुल्न बाँकी छ।

 

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार बस अत्यधिक गतिमा गुडेर दुर्घटना भएको हो। बस सडक मोडको भित्तामा ठोक्किएपछि दुर्घटनाग्रस्त भएको थियो। बसमा सवार ३९ यात्रु सवार थिए।

 

घाइतेको धुलिखेल अस्पताल, बनेपास्थित शिर ममोरियल अस्पताल, मध्यपुर ठिमी अस्पताल, वीर अस्पताल, न्यूरो अस्पताल बाँसबारीलगायतमा उपचार भइरहेको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिएकी छन्। बा३ख ४३८५ नम्बरको रिजर्भ बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन्। मृत्यु भएकामध्ये सात जना बनेपाको एउटै वडाका छन्।