सौराहा फुटबल क्लवले उचाल्यो रत्नप्रिय कपको उपाधि

December 11, 2022 6:28 pm

रत्ननगर । रत्ननगरको टिकौलीचौरमा आयोजना गरिएको प्रथम रत्नप्रिय कप खुल्ला नकआउट फुटवल प्रतियोगिताको उपाधि सौराहा फुटबल क्लवले जितेको छ । आइतवार भएको फाइनल खेलमा आयोजक रत्नप्रिय क्लव ए लाई १–० ले पराजित गर्दै सौराहाले उपाधि जितेको हो । जितसंगै सौराहाले १ लाख ११ हजार १ सय ११ नगद पुरस्कार हात पारेको छ भने प्रतियोगितामा दोस्रो भएको आयोजक क्लवलाई ५५ हजार ५ सय ५५ नगद पुुरस्कार प्रदान गरिएको छ ।

सौराहालाई उपाधि जिताउन पहिलो हापको ३३ मिनेटमा रितेश क्षेत्रीले गोल गरेका थिए । आयोजक रत्नप्रियले खेलको दोस्रो हापको २० मिटरमा पाएको पेनाल्टीको मौकालाई सदुपयोग गर्न नसक्दा उपाधि हात पार्ने सम्भावना बाट चुकेको थियो । खेल अबधि भर रत्नप्रियलाई निकै दवावमा राखेको सौराहाका क्षेत्रीले गरेको एक गोलनै खेलको निर्णायक बन्यो । कार्यक्रमका प्रमुख अतिथि रत्ननगर नगरपालिकाका मेयर प्रल्हाद सापकोटा र क्लवका अध्यक्ष बसन्त रानामगरले विजयी टिमलाई नगद पुरस्कार र उपाधि हस्तान्तरण गरेका थिए । सौराहा युवा समाजका अमृत श्रेष्ठ प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित हुँदै पाँच हजार नगद पुरस्कार जित्न सफल भएका छन् । आयोजक रत्नप्रिय युवा क्लवले प्रतियोगिताको समापनको अबसर पारेर तीन जना पूर्व राष्ट्रिय खेलाडी सहित पाँच जना खेलाडीलाई सम्मान गरेको छ । पूर्व राष्ट्रिय खेलाडीहरु रत्ननगर निवासी सुर्यमान श्रेष्ठ, ललीत थापा र लेखनाथ घिमिरेलाई सम्मान गरिएको हो । त्यसैगरी बंगलादेशमा भएको महिला फुटवलमा उत्कृष्ट खेल प्रर्दशन गरेका रत्ननगर १२ निवासी शुशीला भूजेल र सुजता तामाङ तथा संस्थागत रुपमा रत्ननगर नगरपालिका वडा नं ९ र पूर्वी चितवन पत्रकार मञ्चलाई पनि सम्मान गरिएको क्लवका अध्यक्ष रानामगरले जानकारी दिए ।

क्लवका अध्यक्ष रानामगरको अध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्षहरु अनन्त अधिकारी,किरण महतो,सजना महतो,कुलप्रसाद सापकोटा,बालकृष्ण चापागाईँ,कलाधर पौडेल,रामकुमार चौधरी,कृष्ण चौधरी,डिएसपी रविनबाबु रेग्मी लगायतको सहभागिता रहेको थियो । मंसिर १२ गतबाट सुरु भएको सो प्रतियोगितामा १४ टिमको सहभागिता रहेको थियो ।