३ गोल प्रहार गर्दै रत्नप्रिय बि सेमी फाईनल प्रवेस

December 7, 2022 6:42 pm

रत्ननगर, २१ मंसिर । रत्ननगरको टिकौलीमा जारी प्रथम रत्नप्रिय कप नकआउट फुटबल प्रतियोगिता अन्तर्गत आज बुधबार भएको अन्तिम क्वाटर फाईनल खेलमा रत्नप्रिय बि फुटबल क्लव बिजयी भएको छ । इन्द्रेणी एफ सी देबौलीलाई ० का विरुद्ध ३ गोल गर्दै रत्नप्रिय बि सेमिफाईनल प्रवेस गरेको हो । हार संगै इन्द्रेणी उपाधि होड बाट बाहिरिएको छ । रत्नप्रियलाई सहज जित दिलाउन खेलको आठौ मिनेटमा प्रयास तमाङले गोल गरे भने खेलको १८ औँ र ५२ औँ मिनेटमा सन्दिप बिकले गोल गरि टिमलाई ३ – ० को अग्रता दिलाए ।

सुरुवाती समय देखिनै रत्नप्रिय बिले इन्द्रेणीलाई पूर्ण रुपमा दवाबमा राखेको थियो, ३ वटा बल गोलमा परिणत भए पनि अन्य आधा दर्जन अवसर रत्नप्रिय बि ले गुमाएको थियो । इन्द्रेणीका खेलाडीहरु रक्षात्मक रुपमा सम्हालिने कोशिस गर्दा गर्दै रत्नप्रियको अगाडि निरिह देखिएको थियो ।

प्रतियोगितामा रत्नप्रिय बि का खेलाडी प्रयास तमाङ म्यान अफ द म्याच घोषित भए । उनको खेल उत्कृष्ठ संगै अनुसाशित थियो । कार्यक्रममा प्रमुख अतिथि रहनुभएको मृगकुञ्ज मध्यवर्तीका प्रतिनिधी बुद्धिमान विश्वकर्माले प्रयास तमाङलाई म्यान अफ दि म्याचको ट्रफी, साथै समाजसेवी तथा खेल प्रेमी नारायण श्रेष्ठले मेडल प्रदान गरेका थिए । सोहि कार्यक्रममा बोल्दै विश्वकर्माले खेलले मानिसमा अनुशासन सिकाउने भएका कारण यस्ता खालको प्रतियोगिता भैरहनु पर्ने बताएका थिए ।

भोलि बिहिबार देखि सेमी फाईनल सुरुवात हुने आयोजक क्लवका अध्यक्ष बसन्त रानामगरले जानकारी दिए । भोली पहिलो सेमी फाईनलमा आयोजक रत्नप्रिय ए र २८ बिगाहा फुटबल क्लवको भिडन्त हुनेछ भने पर्सि शुक्रबार दोश्रो सेमिफाईनलमा आयोजक रत्नप्रिय बि र सौराहा फुटबल क्लब बीच खेल हुने रानामगरले बताए । यी दुई टिमका बिजेता बीच आगामी २५ गते आईतबार फाइनल खेल हुने समेत उनले थपे ।

“स्वास्थ्को लागि खेलकुद राष्ट्रको लागि खेलकुद” भन्ने मुल नाराका साथ रत्ननगर–९ मा रहेको रत्नप्रिय क्लवको आयोजनामा यही मंसिर १२ गतेदेखि सुरु भएको प्रतियोगिता यही मंसिर २५ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा प्रथम हुने टिमले १ लाख ११ हजार १ सय ११ रुपैँया, द्धितिय हुने टिमले ५५ हजार ५ सय ५५ रुपैँया,म्यान अफ द म्याच लगाएतका खेलाडीलाई जनही ५ हजार रुपैया पुरस्कार साथै शिल्ड, कप, मेडल र प्रमाण पत्र प्रदान गरिने आयोजकले जानकारी दिएका छन् ।