बनपाले भण्डारीले पाए व्हिलचियर

December 4, 2022 6:46 pm

मङ्सिर १८, खैरहनी । कुमरोज मध्यवर्ती सामुदायिक बनका पुर्व बनपाले बलराम भण्डारीले व्हिलचियर प्राप्त गरेका छन् , सामान्य रुपमा हेर्दा अशक्त व्यक्तिले व्हिलचियर प्राप्त गर्नु केहि अनौठो नलागे पनि भण्डारीको कथा भने बेग्लै छ । वि.सं. २०६५ सालमा बन सुरक्षा गर्ने क्रममा सिकारीलाई लुकेर हेर्छु भनेर रुख चढेका बलराम रुख बाट खस्न पुगे, जसो तसो उनको उपचार त भयो तर त्यो दिन पछि उनि आफ्नै खुट्टामा उभिन नसक्ने भए । आर्थिक स्थिती निकै दयनिय भएका कारण उनको घरमा चुलो बल्नै कठिन भैरहेको थियो, यो अवस्थामा उनले व्हिलचियर किन्ने त परैको कुरा थियो ।

उनलाई व्हिलचियर किन्दिने सपना भने धेरैले देखाए अझ विशेष गरेर निर्वाचनको समयमा विभिन्न राजनैतिक दलहरुले सपना देखाउने गरेको तर निर्वाचन पश्चात उनीहरु कोहिपनि फर्किएर न-आएको तितो अनुभव बलराम भण्डारी संग छ । तर आज भने १४ बर्ष पछि उनको त्यो सपना पुरा भएको छ ।

प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा चितवन जिल्ला क्षेत्र १ ख मा उमेदवार रहेका राममणि न्यौपानेले निर्वाचनमा पराजित भएपनि उनलाई व्हिलचियरको आशा मात्र देखाएनन त्यो सपना पुरा पनि गराईदिए । न्यौपानेले रोटरी इन्टरनेसनलको सहकार्यमा आफ्नो व्यक्तिगत आर्थिक लगानीमा व्हिलचियर प्रदान गरे संगै भण्डारीलेले राममणि न्यौपानेलाई धन्यवाद प्रकट गर्दै, भोलिको दिनमा पनि दिन-दु:खीको सेवामा समर्पित भैरहन आग्रह समेत गरेका थिए ।