रवि लामिछानेलाई निर्वाचन आयोगले लियो स्पष्टीकरण

November 16, 2022 7:02 pm

चितवन । नागरिकता प्रकरणबारे राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् चितवन प्रतिनिधिसभा क्षेत्र नम्बर २ का उम्मेदवार रवि लामिछानेलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । लामिछानेले विदेशी नागरिकता लिँदा नेपाली नागरिकता नत्यागेको भन्दै दुई जनाले आयोगमा उजुरी परेपछि उनलाई स्पष्टीकरण सोधिएको हो ।

आयोगमा उजुरी परेलगत्तै आयोगले चितवन प्रतिनिधिसभा क्षेत्र नम्बर २ का मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई आवश्यक कारबाही गर्न पत्राचार गरेको थियो । त्यसैअनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालयले एक साताको समयावधि दिएर स्पष्टीकरण सोधेको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवार लामिछानेको सचिवालयलाई स्पष्टीकरण पत्र बुझाइएको जनाएको छ । उनले एक साता भित्र आयोगमा परेको उजुरीबारे स्पष्टीकरणको जवाफ प्रमाणसहित पेस गर्नुपर्नेछ ।