यूएई विरुद्ध नेपालको ‘रोमाञ्चक’ जित

November 16, 2022 6:52 pm

काठमाडौं । यूएईविरुद्धको एकदिवसीय सिरिजको दोस्रो खेलमा घरेलु नेपाल ३ विकेटले विजयी भएको छ । बुधबार सम्पन्न खेलमा यूएईले दिएको १ सय ९२ रनको लक्ष्य नेपालले ४७.५ ओभरमा सात विकेट गुमाएर पूरा गर्‍यो । नेपालको जितमा गुल्शन झाले ३७, आरिफ शेखले अविजित ३३, कुशल भुर्तेलले ३५, ज्ञानेन्द्र मल्लले २६, दीपेन्द्र सिंह ऐरीले १३, कप्तान रोहित पौडेलले आठ र आसिफ शेखले ६ रनको योगदान दिए ।

सोमपाल कामी १६ रनमा अविजित रहे । यूएईका लागि रोहन मुस्तफाले १० ओभरमा २४ रन दिएर सर्वाधिक तीन विकेट लिए । त्यस्तै, हजरत बिलालले दुई र बसिल हमीदले एक विकेट हात पारे । त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर ब्याटिङ रोजेको यूएईले ४३.२ ओभरमा सबै विकेट गुमाएर १ सय ९१ रन बनायो । उसका लागि मोहम्मद वसिमले अर्धशतकीय पारी खेले । ४६ बलको सामना गरेका उनले चार छक्का र तीन चौकासहित ५० रन बनाए ।

त्यस्तै, अलिशान शराफुले ३५, वृत्य अरविन्दले २५, बसिल हमीदले २४, कप्तान सिपी रिजवानलले २२ र विष्णु सुकुमरनले १५ रन बनाए । नेपालका लागि बलिङमा सोमपाल कामी र ललितनारायण राजवंशी ‘हिरो’ सावित भए । ७.२ ओभरमा ३५ रन दिएका सोमपालले तीन विकेट लिए । ललितले १० ओभरमा ४१ रन खर्चदै तीन विकेट हात पारे । सुरुवातमा कमजोर बलिङ गरे पनि ललित र सोमपाल चम्किँदा यूएई ४३ ओभरमै अलआउट भयो ।

त्यस्तै, करण केसी, कुशल भुर्तेल, गुल्शन झा र दीपेन्द्रसिंह ऐरीले एक/एक विकेट लिए । नेपालको यो जितसँगै तीन खेलको सिरिज १–१ को स्थितिमा आएको छ । पहिलो खेलमा नेपाल ८४ रनले पराजित भएको थियो । नेपाल–यूएईबीचको निर्णायक तथा तेस्रो खेल शुक्रबार हुनेछ ।