लालपूर्जा वितरणको नीतिगत व्यवस्था एमालेले गरेको हो : खनाल

November 16, 2022 2:15 pm

रत्ननगर । नेकपा एमालेका जिल्ला सचिव तथा प्रदेश सभा सदस्य पदका उम्मेदवार प्रकाश खनाल शैलेसले सुकुमबासीलाई लालपूर्जा वितरणको लागि एमालले नीतिगत व्यवस्था गरेको बताएका छन् । बुधवार रत्ननगर १२ मा आयोजना गरिएको चुनावी सभामा उनले लालपूर्जा वितरणको लागि आधारशिला तयार गर्ने पार्टी एमाले भएको बताए । केपी ओली नेतृत्वको सरकारले सुकुमबासीलाई लालपूर्जा वितरणको लागि नीतिगत व्यवस्था गरेको हो उनले भने सत्ता गठबन्धनका उम्मेदवारहरुले हामी लालपूर्जा दिन्छौ,भोट दिनुस भन्नु औचित्यहिन कुरा हो । एमाले लालपूर्जासंग भोट साट्ने पक्षमा नरहेको भन्दै उनले यस अघि नै लालपूर्जा सुनिश्चितताको लागि नीतिगत व्यवस्था गरिसकेको छ । सुकुमबासीले जमिनको स्वामित्व प्राप्त गर्ने व्यवस्था एमालेले तयार गरिसकेको भन्दै उनले गठबन्धनको भूलभूलैयामा नपर्ने मतदातालाई आग्रह गरे । गठबन्धनका उम्मेदवारहरुको सरकार अहिले छ उनले प्रश्न गर्दै भने निर्वाचन जिते लगतै लालपूर्जा दिन्छौं भन्नेले अहिले सम्म के हेरेर बसेको हो । नेता खनालले एमाले २० ग्यारेन्टी सहित चुनावी मैदानमा होमिएको बताए । यो २० ग्यारेन्टी काम गर्नका लागि गरिएको हो उनले भने एमालेलाई विश्वास गर्नुस हामी विकासको लहर ल्याउने छौं । जनताको घरदैलोमा रहेको नेता खनालले एमालेको जितलाई गठबन्धनले रोक्न नसक्ने बताए । यो नेताहरुको मात्र गठबन्धन हो उनले भने भोट हाल्ने जनता स्वतन्त्र हुनुहुन्छ,एमालेको जित निश्चित छ ।