
२६ कार्तिक, भरतपुर ।
जिल्लाको सदरमुकाम भरतपुरमा गठबन्धनको आमसभा सम्पन्न भएको छ । आमसभामा शिर्ष स्तरका
नेताहरुले गठबन्धनलाई भोट दिन आग्रह गरेका छन् । आमसभालाई सम्बोधन गर्न नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका उपाध्यक्ष केशवलाल श्रेष्ठ त्यस्तै चितवनका गठबन्धन दलका सबै उम्मेदवारहरु सभास्थलमा उपस्थित भएका थिए ।
सभामा बोल्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफुले चितवन नछाडेको बताएका छन् , ‘म गोरखाको जनताको ऋणी छु। जवानीमा ३ वर्ष अध्यापन गरेँ, पञ्चायत विरुद्धको आन्दोलनको सबै काम मैले गोरखाबाट गरेँ,’ ‘अनि जनक्रान्तिको तयारी पनि गोरखाबाटै गरेको कारणले र गोरखाका सबै वुद्धिजीवि साथीहरुले आग्रह भएपछि र हामी गठबन्धनमा पनि चर्चा गरेपछि उता गएको हुँ। तर मैले चितवन छाडेको होइन।’ प्रचण्डले गठबन्धनका सम्पूर्ण उमेदवारहरुलाई भोट मागेका थिए ।
प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका शेरबहादुर देउवाले चितवन–१ मा सत्ता गठबन्धनका प्रतिनिधि सभा सदस्य उम्मेदवार डा. विश्व पौडेलका लागि मत मागेका छन्। उनले क्षेत्र नम्बर १ का उम्मेदवार पौडेलले भोलिका दिनमा नेपालको बजेट, नेपालको आर्थिक विकास र जलस्रोतको विकासका लागि महत्वपूर्ण योगदान पुर्याउने भन्दै पौडेलको चर्चा गरेका थिए । त्यस्तै चितवनको २ नम्बर क्षेत्रमा गठबन्धन बाट उमेदवार बनेका नेपाली कांग्रेसका उमेश श्रेष्ठ शिक्षा प्रेमी भएको भन्दै भोट प्रदान गर्न २ नम्बर क्षेत्रका बासिन्दाहरुलाई उनले अनुरोध गरेका छन् ।
कार्यक्रममा राजेन्द्र हमालले प्यारोडी, र जोगिन्दर पानवाला शिवशंकर रिजालले हास्य प्रस्तुती प्रस्तुत गर्दा दर्शक दिर्घामा हाँसोको फोहरा नै छुटेको थियो ।