सुर्यमा मत नदिनुस,म गतिलो उम्मेदवार हुं : विश्व पौडेल

November 10, 2022 4:23 pm

कार्तिक २४, चितवन  ।

चितवन क्षेत्र नम्बर १ मा गठबन्धनका उम्मेदवार डाक्टर बिश्वनाथ पौडेलले सुर्य चिन्हमा भोट नदिनु भन्दै आफ्नो पक्षमा मत मागेका छन् । चुनावी प्रचार र घरदैलोका क्रममा खैरहनि ७ मझुईमा आयोजित कोण सभालाई सम्बोधन गर्दै काङ्ग्रेसका पौडेलले सुर्य चिन्हमा मत नदिनु भनेका हुन । यस अघिका उम्मेदवारले यो क्षेत्रको बिकास गर्न नसकेको उनको आरोप थियो । तपाईंहरुले पटक पटक जिताउनु भयो,बिकास केही गर्न सकेनन् पौडेलले भने – यहाँको बिकासका लागि सुर्यमा मत नदिनुस,मलाई जिताउनुस । प्रधानमन्त्री शेरबहादुर देउवा निकट मानिने पौडेलले यो क्षेत्रको बिकासका लागि आफू गतिलो उम्मेदवार समेत रहेको दावी गरे । एमालेबाट सांसद र मेयरमा निर्वाचित भई सकेका लालमाणी चौधरीको नाम लिदै पौडेलले सुर्यमा मत नहाल्न चौधरीलाई समेत अनुरोध गरे । कोष तथा लेखा नियन्त्रण कार्यालयबाट निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तोकिएका मणिभद्र न्यौपानेले एक उम्मेदवारले अर्को उम्मेदवारको चुनाव चिन्हमा भोट नदिनु भन्न नमिल्ने बताउँछन् । आफ्नो लागि भोट माग्ने हो,अरुलाई नदे भन्न मिल्दैन, अनुगमन अधिकृत न्यौपानेले भने – ऎनमा स्पष्ट उल्लेख नभए पनि यस्तो गतिविधि गर्न मिल्दैन,हामी उहाँलाई सम्पर्कमा ल्याएर सम्झाउने प्रयासमा छौ ।