डोटीमा भूकम्प , मृत्यु हुनेको संख्या ६ पुग्यो

November 9, 2022 12:17 pm

डोटी। डोटीमा केन्द्रविन्दु भएर मंगलबार राति गएको भूकम्पले घर भत्किँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ। अरू पाँच जना घाइते भएका छन्।राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु भएर ६.६ म्याग्निच्युडको भूकम्प गएको हो। मङ्गगलबार मध्यरात २ बजेर १२ मिनेटमा गएको भूकम्पले ग्रामीण भेगका दर्जनौं घर भत्किएका छन्।

 

भूकम्पमा परेर स्थानीय ५० वर्षीय प्रेम बोहरा, ४० वर्षीया भगवती बोहरा, १३ वर्षीया सीता बोहरा, आठ वर्षीय हर्क बोहरा र १४–१४ वर्षीया धनसरी र तुल्सी बोहोराको मृत्यु भएको इलाका प्रहरी कार्यालय सानागाउँका प्रहरी सहायक निरीक्षक नयनसिंह भाटले जानकारी दिए। भूकम्पमा परेर अन्य पाँच जना घाइते भएका छन्। उक्त गाउँका आठ वटा घर भूकम्पले पूर्ण रुपमा भत्काएको छ।