सुरेन्द्र पाण्डेको संकल्प : बृद्धभत्ता पाँच हजार, खानेपानी निःशुल्क

November 8, 2022 2:00 pm

रत्ननगर । नेकपा एमालेले चितवन क्षेत्र नं १ मा बृद्धभत्ता पाँच हजार र दश हजार लिटर सम्म खानेपानी निःशुल्क उपलब्ध गराउने संकल्प गरेको छ । निर्वाचन परिचालन कमिटीले सार्वजनिक गरेको संकल्प पत्रमा बृद्धभत्ता चार हजारबाट बृद्धि गरी पाँच हजार पु¥याउने र खानेपानी निःशुल्क उपलब्ध गराउने उल्लेख छ । तत्कालिन प्रधानमन्त्री स्वर्गीय मनमोहन अधिकारीले मासिक १०० बाट सुरु गरेको बृद्धभत्ता अहिले ४ हजार पुगेको छ । अब बन्ने एमालेको सरकारले बृद्धभत्ता एक हजार बृद्धि गर्ने मतदाता संग संकल्प गरेको हो । सो पार्टीले पूर्वी चितवनमा एक घर एक धाराको अबधारण कार्यान्वय गर्दै १० हजार लिटर सम्म खानेपानी निःशुल्क उपलब्ध गराउने संकल्प गरेको केन्द्रीय सदस्य तथा निर्वाचन परिचालन कमिटीका संयोजक कपिल पोखरेलले जानकारी दिए । एमालेले लोथर देखि सौराहा सम्म कंक्रिट ड्याक निर्माण तथा निकुञ्ज र बस्तीको सिमानमा कंक्रिट पर्खाल निर्माण गर्ने विषयलाई संकल्प पत्रमा प्राथमिकताका साथ समाबेश गरेको छ । एमालले पूर्वी चितवनमा सडक सञ्जालको विकास गर्ने जनाएको छ । त्यसका लागि टिकौली देखि लोथर–हेटौडा–पथलैया खण्ड सुरक्षा मापदण्ड सहित चारलेनको बनाउने, शहरी बस्ती भएको क्षेत्रमा सर्भिसलेन, अण्डरपास, फ्लाईओभर र वन तथा वन्यजन्तु क्षेत्रमा टनेल निर्माण गर्ने, चितवन–बुटवल–निजगढको अन्तर घटाउन सुरुङ मार्ग निर्माण गर्ने संकल्प गरेको छ । बैकल्पिक राजमार्गको रुपमा ठोरी–भण्डारा–लोथर–मलेखु चेपाङ मार्गको निर्माण सम्पन्न गर्ने, अमलेखगञ्ज देखि चितवन सम्म पेट्रोलियम पाइपलाइन निर्माण गर्ने, पूर्वी चितवनमा चत्रपथ निर्माण सुरु गरिएको र यसलाई समयमै सम्पन्न गर्ने संकल्प एमालेले गरेको छ । भूमिहिन किसान तथा अव्यवस्थित बसोबासीको लागि व्यवस्थित आवासको व्यवस्थापन गर्न एकीकृत जग्गा विकास कार्यक्रम सञ्चालन गर्ने, पूर्वी चितवन १०० विपन्न परिवारलाई घर निर्माण गरी हस्तान्तरण गर्ने, २० स्थानमा एकीकृत विकास बस्ती निर्माण गर्ने संकल्प एमालेले गरेको छ । पूर्वी चितवनका पर्यटन विकासको लागि पर्यटकीय नगरी सौराहालाई सिरानीमा राखेर एमालेले सौराहा, कुमरोज, कंकाली, ठकुरीभन्ज्याङ, परेवाकोट लगायतका स्थानमा पूर्वाधार निर्माण गर्ने, पूर्वी चितवनका मुख्य नदीहरु किनारमा साइकल सर्किट निर्माण गर्ने, खैरहनीमा निर्माणाधिन रंगशाला सम्पन्न गर्ने, रत्ननगरको पडेरियामा स्तरीय खेलमैदान निर्माण गर्ने,धर्मिक पर्यटनको प्रर्बद्धनको लागि धर्मधाम जिरौला,गायत्री हरिहर मन्दिर,राम मन्दिर र कृष्ण प्रणामी मन्दिर तथा गुम्बाको विकास गर्ने संकलप गरिएको छ । पूर्वी चितवनलाई शिक्षाको हब मनाउन सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा सञ्चालन गर्ने र १०० वटा सामुदायिक विद्यालय र क्याम्पसमा कक्षाकोठा, प्रयोगशाला, पुस्तकालय, खानेपानी, शौचालय र इ–प्रविधि अनुकुल पूर्वाधार निर्माण गर्ने, कक्षा ८ सम्मका सबै विद्यार्थीलाई दिवा खाजाको व्यवस्था गर्ने, शिक्षक दरबन्दी मिलान गर्दै गणित, अंग्रेजी र विज्ञान शिक्षकहरुको विद्यार्थी र शिक्षकको अनुपात मिलाउने, शिक्षालाई उद्यमशिलता र रोजगारीसंग जोड्ने, खैरहनीमा रहेको रामपुर क्याम्पसलाई कृषि, भेटेरेनरी, बाली विज्ञान जस्ता विषयहरुको पठनपाठन आरम्भ गरी कृषि अनुसन्धान केन्द्रको रुपमा विकास गर्ने संकलन एमालेले गरेको छ । बकुलहर रत्ननगर अस्पतालको स्तरोन्नती तथा शिक्षण अस्पतालको रुपमा विकास गरी नर्सिङ,फार्मेसी,ल्याब टेक्निसियन र एमविविएस विषयको पठनपाठन सुरु गर्ने, निसन्तान दम्पतीको लागि आइभिएफ सेवा सुरु गर्ने, खैरहनी र राप्तीमा सञ्चालित आधारभूत अस्पताललाई स्तरोन्नती गरी प्रसूति तथा वनजात शिशु स्याहार सेवा सञ्चालनमा ल्याउने,रत्ननगर स्थित जिल्ला आयुर्वेद अस्पतालाई जडिबुटी तथा औषधि उत्पादनसंग जोड्ने,विपन्न,सीमान्तकृत र ज्येष्ठ नागरिकको निशुल्क स्वास्थ्य बिमा गर्ने र स्वास्थ्य बिमाको रकम ५ लाख पु¥याउने संकल्प गरिएको छ । कृषि र पशुपालन तर्फ एमालले खैरहनीमा औद्योगिक कृषि बजार स्थापना गर्ने,भण्डारामा दुग्ध प्रशोधन तथा धुलो दुध कारखाना स्थापना गर्ने,पूर्वी चितवनमा सुविधा सम्पन्न कृषि उपज प्रशोधन केन्द्र स्थापना गर्ने,बाँझो जमिनमा फलफुल तथा जडिबुटी खेतीको लागि अनुदानका कार्यक्र ल्याउने संकल्प गरिएको केन्द्रीय सदस्य पोखरेलले बताए । सामाजिक सुरक्षा भत्तापछि एमालले यस पटकको निर्वाचनमा युवा लक्षित कार्यक्रमलाई जोड दिएको छ । युवाहरुलाई प्रविधिसंग जोडेर स्वदेशमै पैसा कमाउन सक्ने गरी सक्षम बनाउने योजना एमालले अघि सारेको केन्द्रीय सदस्य पोखरेले बताए । सो पार्टीबाट चितवन क्षेत्र नं १ मा पार्टीका केन्द्रीय उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, प्रदेश सभा “क” मा जेएन थपलिया र प्रदेश सभा “ख” मा प्रकास खनाल शैलेस चुनावी मैदानमा छन् । समानुपातिक तर्फ प्रदेश सभा “क” मा शान्तिकुमारी चौधरी र प्रदेश सभा “ख” मा सुनिमाया चेपाङलाई एमालले अघि सारेको छ ।