टिकट नपाएकालाई भोलि अवसर दिइने छ : प्रम देउवा

October 24, 2022 1:28 pm

सुदूरपश्चिम। नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान, लोकतान्त्रिक गणतन्त्र, संघीयता बचाउन र विकास तथा समृद्धिका लागि पाँच दलीय गठबन्धन बनेको बताएका छन्।

 

पाँच दलीय गठबन्धन दलद्वारा आज धनगढीमा आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय संयुक्त प्रशिक्षण भेलामा प्रधानमन्त्री देउवाले आउँदो चुनाव संविधान रहने कि नरहने तथा संघीयताको संस्थागत विकास हुने नहुने विषयसँग जोडिएकोले संविधान र संघीयताका पक्षमा एकताबद्ध भएर लाग्न निर्देशन दिए। प्रधानमन्त्री देउवाले गठबन्धनलाई पूर्ण रुपमा अगाडि बढाउँदै चुनावपछि पनि गठबन्धनकै सरकार र गठबन्धनकै वर्चश्व हुने गरी लाग्न निर्देशन दिए।

 

देउवाले भने, ‘देशको विकास र समृद्धिका लागि गठबन्धन आवश्यक छ, पाँच दलीय गठबन्धनको मर्मअनुसार हिँड्न जरुरी छ।’ प्रधानमन्त्री देउवाले सुदूरपश्चिम प्रदेशबाट अघिल्लो निर्वाचनमा कांग्रेसको तर्फबाट आफू एक जनामात्र विजयी भएको प्रसंग उल्लेख गर्दै अहिले गठबन्धनमा रहेका दलहरुको सहयोगमा आफू प्रधानमन्त्री बन्न पाएको उल्लेख गरे।

 

उनले गठनबन्धन गरेर चुनावमा जानुपर्ने परिस्थितिमा आउने चुनावमा सबैलाई टिकट दिने स्थिति नरहेको बताउँदै अहिले टिकट नपाएर अन्यायमा परेको भनिएकालाई चुनावपछि बन्ने गठबन्धनको सरकारले नयाँ अवसर दिने अश्वासन दिए।