देश जोगाउने हो भने गठबन्धनको विकल्प छैन : पौडेल

October 21, 2022 4:46 pm

काठमाडौं। नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेको सत्ता गठबन्धन सत्ताका लागि नभई व्यवस्था बचाउने गठबन्धन रहेको बताएका छन्। बुटवलमा आयोजित गठबन्धनको लुम्बिनी प्रदेशस्तरीय संयुक्त प्रशिक्षण कार्यक्रममा उनले संविधानको रक्षका लागि गठबन्धन बनेको तर्क गरे।

 

‘पाँच दलको गठबन्धनले देश जोगाउन, सुशासन ल्याउँछ, स्थायित्व ल्याउँछ, यसको विकल्प छैन,’ पौडेलले भने। उनले चुनावी तालमेलको रुपमा मात्र नभएको भन्दै प्रतिगामी र पछाडि फर्कनेहरूले पनि गठबन्धन बनाएको टिप्पणी गरे। उनले आफूहरूको गठबन्धन भने अग्रगामी लोकतान्त्रिक शक्तिहरूको भएको दाबी गरे।

 

‘अग्रगामी शक्ति र प्रतिगमनकारी शक्ति बीचको लडाई अहिलेको चुनाव हो, संविधान माथि धावा बोल्नेलाई पराजित गर्न गठबन्धन भएको हो,’ पौडेलले भने। अब देशले राजनीतिक अस्थिरता थाम्न नसक्ने बताउँदै उनले मुलुकमाथि खेलबाड गर्न खोज्नेविरुद्धको अभियान चलाएको बताए।