गठबन्धनसंग विकासका एजेण्डा छैनन् : उपाध्यक्ष पाण्डे

October 19, 2022 6:42 pm

चितवन,कात्तिक २  ।

नेकपा एमालेका उपाध्यक्ष तथा चितवन क्षेत्र नम्बर १ बाट नेकपा एमालेका प्रतिनिधिसभा सदस्य उम्मेदवार सुरेन्द्र पाण्डेले गठबन्धनसंग विकासका एजेण्डा नभएको बताएका छन् ।

 

निर्वाचन क्षेत्रमा भएको चुनावी कार्यक्रममा उनले विकासका योजना नभएका कारण गठबन्धनले एमालेलाई गाली मात्र गरेको बताए । पाण्डेले विरोध गर्ने तरिकाले मात्र देश नबन्ने बताएका छन् । विरोध गर्नलाई कुनै तथ्य आवश्यक नभएको र भन्दिएर हिडेँ मात्र हुने उनले बताए । गरेर देखाउन विश्वासयोग्य कुरा हुनुपर्ने उनको भनाई छ ।

 

विपक्षी पार्टीहरुले विरोध मात्र गर्ने तर काम नगर्ने उनले दाबी गरे । उनीहरुसँग काम कसरी गर्ने भन्नेबारे जवाफ धरि नभएको उनले बताए । “तपाईं तिनीहरुलाई के काम गर्नुहुन्छ भन्दा के उत्तर आउला ? कसरी गर्नुहुन्छ भन्दा कसरी उत्तर आउँछ होला ?” उनले भने “त्यसको कुनै उत्तर छैन । त्यसैले विरोध गर्ने तरिकाले मात्र देश बन्दैन ।” विरोधको एउटा अध्याय पार गरिसकेको उनले बताए ।

 

पञ्चायत, राजतन्त्र सबै ढालेको अब ढाल्न बाँकी गरिबी रहेको उनले बताएका छन् । “अब ढाल्ने गरिबी हो । गरिबी नारा लाएर ढल्दैन, जाम गरेर ढल्दैन । गरिबी ढाल्न त जनताको आम्दानी बढाउनुपर्छ ।” यस्तै आफू गत निर्वाचनमा होमिदाँ पानीको समस्याबारे गुनासो आएको र अहिले त्यसको समाधान भैसकेको उनले बताए । गाग्री बोकेर टाढा टाढा पानी लिन जानुपर्ने बाध्यताबाट छुट्कारा पाइएको उनको भनाइ छ ।

 

यो लगायत अन्य क्षेत्रमा पनि विकास निर्माणका कार्यहरुको भएको उनले बताएका छन् । यो क्षेत्र विकासको केन्द्रबिन्दु बनेको उनले बताए । बाटोघाटोहरु लगभग पिच भैसकेको तर साइड बाटोहरु भएन भन्ने गुनासो आएको उनले बताए । अब छिट्टै यी बाटोहरु पनि पिच गर्ने उनले प्रतिबद्धता व्यक्त गरेका छन् ।