रत्ननगरमा गठबन्धनको प्रदेश स्तरीय कार्यालय उद्घाटन

October 19, 2022 6:27 pm

रत्ननगर । चितवनको रत्ननगर नगरपालिकामा गठबन्धन दलको सम्पर्क कार्यालय बुधवार उद्घाटन गरिएको छ । मंसिर ४ गते हुने आम निर्वाचनलाई लक्षित गरी चितवन क्षेत्र नं १ “ख” अन्तर्गत सो नगरपालिकाको सौराहाचोकमा कार्यालय उद्घाटन गरिएको हो ।

नेपाली काँग्रेसका जिल्ला सभापति तथा गठबन्धनका जिल्ला संयोजक राजेश्वर खनालले कार्यालय उद्घाटन गरेका हुन । कार्यक्रममा प्रतिनिधि सभा सदस्य पदका लागि नेपाली कांग्रेसको तर्फबाट गठबन्धनका उम्मेदवार डा.विश्वनाथ पौडेल, प्रदेश सभा “ख” का लागि समाजवादीका तर्फबाट गठबन्धनका उम्मेदवार कृष्णप्रसाद खनाल, निर्वाचन परिचालन समिटिका संयोजक शेषनाथ अधिकारीलगायत नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा प्रतिनिधि सभा सदस्यका उम्मेदवार डा.पौडेलले मंसिर चार गतेको निर्वाचन अग्रगमन र प्रतिगमन विरुद्धको लडाई भएको बताए । प्रतिगमनले अस्थिरता निम्त्याउने भन्दै उनले मुलुकलाई अस्थिरताबाट जोगाउन गठबन्धन निर्माण भएको बताए । उनले विकास र पछ्यौटेपनको अन्त्यका लागि आफुले चितवन एकमा उम्मेदवारी दिएको बताए । विकासको हिसावले पूर्वी चितवन पछाडि परेको छ उनले भने देशका प्रमुख शहरको जस्तै विकास गर्न म प्रतिबद्ध छु ।

प्रदेश सभाका उम्मेदवार खनालले अहिलेको लडाई सत्ता प्राप्तिको लागि नभएको बताए । हामीले सत्ता प्राप्तिको लागि गठबन्धन गरेका होइनौं उनले भने मुलुकलाई प्रतिगमनको जोखिमबाट जोगाउन गठबन्धन गरेका हौं । नेपाली कांग्रेसका जिल्ला सभापति तथा गठबन्धनका जिल्ला संयोजक खनालले लोकतन्त्रको रक्षाका लागि गठबन्धन गरिएको बताए । यो आवश्यकताको समीकरण हो उनले भने यसले मुलुकको आर्थिक विकास र लोकतन्त्रको संस्थागत गर्नेछ ।

नेपाली कांग्रेस प्रदेश सभा ख का सभापति गोविन्द गौतमको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता राजु अम्गाई, संघीय समानुपातिक उम्मेदवार तथा माओवादी केन्द्रकी प्रदेश कमिटी सदस्य लक्ष्मी नेपाली लगागतले मन्तव्य राखेका थिए । एकीकृत समाजवादीका नगर अध्यक्ष हरिकुमार श्रेष्ठले कार्यक्रम सञ्चालन गरेका थिए ।